वडामै पुगेर गर्भवति महिलाको भिडियो एक्सरे

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २८

सोलुदुधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवति महिलाको भिडियो एक्सरे गरेको छ । आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको सरल पहूँच स्थापित गर्नका लागि भन्दै नगरपालिकाले शुरु गरेको स्वास्थ्य शिविरवाट ७५ गर्भवति महिलाको गर्भ जाँच गरिएको छ ।

गत मंसिर २६ गते देखि शुरु भएको शिविरवाट ७१० सर्वसाधारणले जनरल स्वास्थ्य सेवा पाएका छन् । ११ वडामध्ये ८ वडाका स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरवाट जम्मा ७८५ सर्वसाधारणले स्वास्थ्य सेवा पाएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । गोराखानी, टाप्टीङ, केरुङ, तिङला, गार्मा, टाक्सिन्दु, बेनी र तामाखानी स्वास्थ्य चौकीमा संचालन गरिएको शिविरमा जिल्ला अस्पताल फाप्लुका डा. कमला सन्जेल र विनोद पाण्डेको टोली उपचारमा खटिएका थिए ।

बर्षको ३ पटक वडा तहमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रमको तयारी गरिएको शिविरमा ७३ प्रकारका औषधि वितरण गरेको स्वास्थ्य शाखा संयोजक मगरले बताए । ‘हामीले जिल्ला अस्पतालले दिने औषधि भन्दा ३ प्रकारको औषधि बढि वितरण गरेका छौ ।’ उनले भने, ‘गाउँघरमै स्वास्थ्यपचार पाएपछि विशेषत महिला, जेष्ठनागरिक र अपांगहरुलाई ठूलो राहत मिलेको छ ।’ उनले असक्त र असहाय लक्षित शिविर प्रभावकारी भएको बताए । शिविरमा उच्च रक्तचाप र हाडजोर्नी सम्बिन्ध समस्या बढि देखिएको छ ।

गर्भवतिको गर्भ जाँच गर्दै स्वास्थ्यकमी

गर्भ परिक्षण गरिएको गर्भवतिमा पेटमा बच्चाको अवस्था असन्तुलित रहेको पहिचान गरिएको छ । जोखिम न्यूनिकरणका लागि आवश्यक सुझाव समेत दिईएको संयोजक मगरले बताए । शिविरमा गर्भ जाँच गराउन आउनेहरुमध्ये केहि २० बर्ष मूनिका महिला समेत पाईएको नगरपालिकाले जनाएको छ । ‘नगर क्षेत्रमा पनि सानै उमेरमा विवाह हुने र गर्भधारण गर्नेको संख्या न्यून भएपनि रहेको शिविरवाट पहिचान भएको छ । नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत दापासा शेर्पाले भने, ‘कानुन विपरित मानिने विवाहलाई रोक्नका लागि विद्यालय स्तरको सचेतनामूलक कार्यक्रम संचालन भईरहेको छ ।’ उपमेयर कल्पना राईको नेतृत्वमा संचालन हुदै आएको चेतनामूलक कार्यक्रमले नागरिकको चेतना अभिबृद्धिमा टेवा पुग्ने विश्वास लिएको उनको विश्वास छ ।

आर्थिक बर्ष २०७४–७५ देखि शुरु गरिएको शिविरलाई एकिकृत बनाउन सर्वसाधारणले सुझाव दिएका छन् । गर्भवति महिलाको भिडियो एक्सरे र अन्य रोगको परिक्षण मात्र गरिने शिविरमा आँखा, दाँत र ल्याब सेवा पनि थप गरि समुदायस्तरमा जान सके प्रभावकारी हुने सर्वसाधारणले सुझाएका छन् । सेवाग्राहीको सुझावको आधारमा आगामी बर्षको कार्यक्रममा सेवा थप गर्ने संयोजक मगरले बताए । उनले भने, ‘आगामी बर्षको कार्यक्रममा बजेट अनुसार आँखा, दाँत र ल्याब सेवालाई एकिकृत गर्ने र शिविरको दिन समेत बृद्धि गर्ने सोचमा पुगेका छौ ।’ उद्यपी, बृहत छलफल बाँकी रहेको उनले बताए ।

वडा नं ४, ५ र ६ मा भने शिविर संचालन गरिएको छैन् । उनीहरुको सहज पहूँच जिल्ला अस्पतालसम्म हुने भएकाले शिविरको आवश्यकता महसुस नगरिएको नगरपालिकाले जनाएको छ । उद्यपी, वडा नं ५ को रोसी लगायतका गाउँवाट शिविरको माग आएको छ । नगरपालिकाले ७० बर्ष माथीका जेष्ठनागरिक, अशक्त र अपांग लक्षित स्वास्थ्य सेवा घरघरमै पुगेर मासिक रुपमा प्रदान गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु