लोकगीतको विषय फेरिदै, एक पछि अर्को सन्देशमूलक गीत बजारमा (भिडियोसहित)

शिखरजंग श्रेष्ठ (गाँउबेशीको ठिटो) – पछिल्लो समय माया पिरतिमा केन्द्रित बनेको लोक क्षेत्रमा विस्तारै परिर्वतनको आभाष मिलेको छ । पशुपति शर्माको शब्द लयमा सिता केसिले “चिन्ता छैन केहि” बजारमा ल्याएपछि एक पछि अर्को फरक विषयवस्तुमा गीत सृजना हुन थालेको छ । पशुपति शर्मा र सिता केसिको स्वर सुन्न सकिने उक्त गीतले स्रोता तथा दर्शकको मन मात्र जितेन पशुपति शर्मालाई बर्षको उत्कृष्ट गीतको अर्वाड दिलायो । उनको व्यस्तता झन् बढेको छ ।

काम पाईन डिग्री पास गरेर
भैसी पाले गाँउतिरै झरेर
चिन्ता छैन् केहि …

मलाई अमेरिका यहि, मलाई जापान पनि यहि, मलाई वेलायत नी यहि
लैनो भैसी दुउन्छु, २ गिलास दुध खान्छु,
मलाई वियर पनि यहि, मलाई हुस्की पनि यहि, मलाई पोषिलो नी यहि

कृषि क्षेत्रमा संभावना भएकाले बजार कमाउन विदेश नै जानु नपर्ने सन्देश सहितको प्रेरणामूखि शब्दजाल बुनिएको छ । यो गीतले सुनेकाहरुलाई एक पटक सोच्न बाध्य बनाएको छ ।

https://www.youtube.com/watch?v=tNnYwBeI06k

त्यसपछि गीतकार शिव सुवेदीले “खै हाम्रो दिलमा त घामै लाएन” बोलको लोक गीतले नेताहरुलाई देशको वास्तविक वस्तुस्थिति सहित खबरदारी गर्ने काम गरेको छ । उनले गीतमार्फत देशलाई छिटो निकास दिन दलहरुलाई सहमती गर्नमा जोड दिइएको छ ।

लोकतन्त्र गणतन्त्र जे भनेनी भन
देश हाक्ने खोज्नेहरु अलि सचेत बन
मिलाउन पर्नी बेला स्वर माथी स्वर
चार तिर फर्केका छन् यहि राजनिति होर

खोई हाम्रो दिलमा त घामै लाएन्
जसको सरकार आएपनि जनताको सरकार आएन

गीतकार सुवेदीले पहिलो पटक १० जना गायकगायिकालाई गाउन लगाएका छन् । सो गीतमा गायक पुरुषोत्तम न्यौपाने, बद्रि पंगेनी, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, पुस्कल शर्मा, कुलेन्द्र विश्वकर्मा र प्रकाश सपुत स्वर दिएका छन् भने गायिकामा जुना श्रीष र शान्ति श्री परियार रहेकी छिन् ।

त्यस्तै सर्जक लोकनाथ सापकोटाले संविधान निर्माणमा दबाब दिन भन्दै “बनाउँ संविधान” गीत बजारमा ल्याएका छन् । उनले गीत मार्फत भनेका छन्, देश विकास र शान्तिका लागि संविधान जारी हुनुपर्छ ।

शान्तिको लागि बनाउँ संविधान
लोकतन्त्रका लागि बनाउँ संविधान
सुसासनको लागि बनाउँ संविधान
अग्रमगनका लागि बनाउँ संविधान
विधान ……संविधान ….

एउटै देश झल्काउने बनोस् संविधान
जातजाती मिलाउने बनोस् संविधान
बल्ल बाँच्नेछौ हामी नेपाली

सर्जक तथा गायक सापकोटालाई गायनमा गायिका टिका पुनले साथ दिएकी छिन् ।

सन्देशमूलक गीत आउने क्रममा माया प्रिमका विषयलाई पर राख्दै सर्जक कृष्ण सुधा ढुंगानाले “नयाँ नेपाल बन्छ” बोलको आशबादी गीत बजारमा ल्याएका छन् । विमलराज क्षेत्रीको भाका र स्वर रहेको गीतमा स्वदेशमै ज्ञान सीप र परिश्रम खर्चिनुपर्नेमा जोड दिईएको छ । गायिका रितु थापाले स्वरमा साथ दिएको गीतमा भनिएको छ –

विदेश जाने भन्दै त्यसै नगरौ है खर्च
वैदेशीक रोजगारीको कुरा बुझ्नुपर्छ ।

परदेश नगए हुन्न र यो मनले भन्छ
ए … हाम्रै सीप जाँगरले नयाँ नेपाल बन्छ ।।

त्यस्तै पछिल्लो समय ईश्वर काफ्लेको प्रस्तुतीमा सितारा म्यूजिकवाट बजारमा आएको “नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन” बोलको गीतले पनि समाजमा व्याप्त विकृतिलाई व्यंग्यात्मक ढंगले सुधारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ । याम क्षेत्री र देवि घर्तिको स्वरमा तयार भएको गीतमा भनिएको छ –

तरकारी र फलफुलमा विषविसादी हाल्नु भईन
गाँउ शहर सफा राखौ फोहोर मैला फाल्नु भएन
क्याम्पस पढ्ने विद्यार्थीले सधैँ टायर बाल्नु भएन
दुध बेच्ने दुधवालाले दुधमा पानी हाल्नु भएन

राम्रो काम गर्नेलाई कसैले केहि भन्दैन
नेतालाई गालि गर्दैमा नयाँ नेपाल बन्दैन ।

विषयवस्तुलाई यथार्थ तवरले शब्दजाल बन्न सिपालु सर्जक एकनारायण भण्डारीले गीत मार्फत समाजमा कृषि, सरसफाई, विद्यार्थी, नारी सम्मान, फेसन, घुस दिने लिने प्रवृत्ति, यूवा पलायन, वृक्षारोपण, व्यवहार, सवारी दुर्घटना, भाडाँ, अखाद्य वस्तु किनबेच, खेलकुदको विकास, चोखो पिरति, बजारमा आएका गीत, नारी शसक्तिकरण लगायतका विषयलाई सकारात्मक रुपमा प्रस्तुत गरेका छन् ।

खहरे भेलसरी मायाप्रेमलाई केन्द्र बनाई आएका दोहारी गीतले समाजमा सकारात्मक छाप भन्दा विकृति फैलाउन सहयोग गरेको टिकाटिप्पणी प्रशस्त मात्रामा सुन्नमा पाईन्छ । बजारमा मौलिकपन बोकेको गीत आएपनि बैशउत्तेजना र अश्लिलताले भरिएका गीतहरुले ओझेलमा पारेका थिए । समाज परिर्वतनमा सकारात्मक भूमिका खेल्ने गीत आउनुले निराश स्रोता तथा दर्शक खुसि भएका छन् । उस्तै उस्तै लाग्ने गीत सुन्दा हैरान भएका दर्शकलाई फरकपनको स्वाद मात्र चखाएका छैनन्, समाज परिर्वतनमा पनि महत्वपुर्ण भूमिका निभाउने आशा गर्न सकिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु