लुक्ला विमानस्थलमा हवाई जोखिम बढ्दो

भानुभक्त निरौला सोलुखुम्बु, २५ भाद्र । लुक्ला लगायत जोखिमपूर्ण रुपमा रहेका नेपालका ७ वटा विमानस्थलमा आधारभुत उपकरणकै अभावमा जोखिम बढि हुने गरेको पाईएको छ ।

नागरिक उड्डयन प्राधिकरण नेपालका अनुसार सञ्चालनमा रहेका यस्ता खतरनाक विमानस्थल देशभर सातवटा छन् । यी विमानस्थललाई प्राधिकरणले ‘वन बी’ कोडमा वर्गीकरण गरेको छ । लुक्लासहित मुस्ताङको जोमसोम, बाजुराको कोल्टी, हुम्लाको सीमकोट, मुगुको ताल्चा, जुम्ला, डोल्पाको जुफाल विमानस्थल यस सूचीमा पर्छन् । यी विमानस्थलमा १९ पटक दुर्घटना भइसकेका छन् । छोटो रन–वे, जटिल भूगोल, छिनछिनमै भइरहने मौसमी बदली, प्रतिकूल मौसमलाई आधार मानेर यी विमानस्थललाई जोखिमपूर्ण मानिएको हो ।

हावाको दिशा मापन गर्ने यन्त्र, छोटो रन वे, बदलिदो मौसमको प्रकृति थाहा पाउने यन्त्र पनि यी विमानस्थल र हवाई रुटमा छैनन् । अझ हिमाली तथा पहाडी भेगका विमानस्थलमा त सुरक्षाका आधारभूत कुराकै अभाव छ । जोखिमयुक्त मानिएका कुनै पनि विमानस्थलमा ‘लाइट सिस्टम’ छैन । जबकि, लाइट सिस्टमलाई विमानस्थलको आधारभूत पूर्वाधार मानिन्छ ।

यो प्रणालीले ‘भिजिबिलिटी’ (दृष्टि क्षमता) कम भएको बेला विमानलाई सुरक्षित अवतरणमा सहयोग गर्छ । विभिन्न रङमा बल्ने बत्तीले चालकलाई संकेत दिइरहेको हुन्छ, जसले विमानस्थल पहिचान गर्न सहज हुन्छ । पर्यटकीय सिजनमा अत्यन्तै ब्यस्त रहने लुक्लामा न लाईट सिस्टम छ न त मौसम पुर्वानुमान यन्त्र नै । उपकरण अभावकै कारण लुक्लामा बर्षेनि दुर्घटना हुने गरेको छ ।

प्राधिकरणद्वारा गत वर्ष प्रकाशित एभिएसन सेफ्टी रिपोर्टले बितेको दस वर्षमा नेपालमा भएका हवाई दुर्घटनामध्ये बहुसंख्यक स्टल विमानस्थलमा भएको देखाउँछ । उक्त रिपोर्ट अनुसार प्रतिकूल मौसमका कारण रुट नै पहिचान गर्न नसक्दा, रुटको मौसमी अवस्था थाहा पाउन नसक्दा दुर्घटना हुने गरेका छन् । नेपालमा जति पनि हवाई दुर्घटना भएका छन त्यसको मुख्य कारक प्रतिकूल मौसम, मानवीय त्रुटि, भौगोलिक कठिनतालाई दिने गरिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु