राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

दिलिप खत्रि,
खोटाङ फागुन २४

खोट राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम शुक्रवार दिक्तेलमा सम्पन्न भएको छ । ‘मेरो जनगणना–मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ जेठ २५ देखि असार १५ गतेसम्म गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउन जिल्लास्थित सरोकारबालाहरुवीच अन्तक्रिया तथा छलफल गरी कार्यक्रमबारे जानकारी गराईएको हो । जनगणनाले जनसंख्याका साथै सामाजिक, आर्थिक, जातिगत, शिक्षा जस्ता कुराहरुको यर्थाथ तथ्यांक ल्याउने अपेक्षा गरिएको छ ।

नेपालमा हालसम्म ११ ओटा जनगणनाहरु सम्पन्न भइसकेको र देश संघीयतामा गईसकेपछिको पहिलो गणना हुन लागेको हो । जनगणनाले सुखी नेपाली संमृद्ध नेपालको नारा पूरा गर्ने लक्ष्य लिएको बताईएको छ ।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले हरेक १० बर्षमा लिईने जनगणनाले देशको समग्र अवस्थाबारे जानकारी गराउने बताए । उनले जनगणना कार्य देशकै प्रमुख कार्यभार भएकाले यसलाई सफल बनाउन सबैको भूमिका रहने बताए ।

तथ्यांक अधिकृत महतोले जनगणनाको महत्व, आवश्यक्ता र यसले देश विकासलाई पार्ने प्रभावबारे प्रकाश पारेका थिए । जनगणनामा विभिन्न विधिको प्रयोग गरिने र थप सुदृढीकरण गर्दै आवश्यक सबै सूचना लिईने बताईएको छ । यो वर्ष निश्चित मापदण्ड बनाई बेरोजगार युवाहरुलाई गणक छनौट गरिने योजना रहेको महतोले बताए ।


तथ्यांक कार्यालय उदयपुरको आयोजनामा होटल शुभदिनको तालिम हलमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि एवम् नगरप्रमुख रिजालले गणकहरुले घर घरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए । उनले सही तथ्यांकले नै वास्तविक अवस्थाको पहिचान हुने हुँदा यसतर्फ सबै सरोकारवाला सचेत हुनुपर्ने बताए ।

जिल्ला समन्वय समिति खोटाङकी उपप्रमुख गोमादेवी खत्रीले जनगणना भरपर्दो र व्यवस्थित बनाउनका लागि सबैको सहभागिता हुनुपर्ने बताइन् । उनले जनगणनालाई सफल बनाउन सबैको सहभागिता आवश्यक रहेकोले जिल्ला समन्वय समितिले जनगणना सफल बनाउन सक्दो सहयोग गर्ने बताइन ।

ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले गणकहरुले घरघरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिँदै सही तथ्यांकले नै वास्तविक अवस्थाको पहिचान दिने बताए । अध्यक्ष निरौलाले आर्थिक गणना चाँहि सही डाँडा आउन कठिन हुने बताए ।

कार्यक्रममा सहभागीहरुले विगतमा हतार हतार गणनाको कामहरु गर्दा थुप्रै त्रुटिहरु आएकाले यसपटक बेलैमा तयारी गरी कामलाई अगाडी बढाउनु सकारात्मक र सिर्जनात्मक काम रहेको बताउदै २०७८ सालमा हुन लागेको जनगणना गुणस्तरीय र विश्वाशिलो हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पालिका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!