राष्ट्रपतिका लागि आज निर्वाचन

सोलुखुम्बु, कात्तिक ११ गते । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि रुपान्तरित व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ ।

राष्ट्रपतिको निर्वाचनका लागि बिहान ११ बजेदेखि १ बजेसम्म संसद् भवन बानेश्वरमा गोप्य मतदान हुनेछ । आजै साँझ ५ बजे बस्ने संसद् बैठकमा निर्वाचन परिणाम घोषणा गरिने छ ।

नेपालको दोस्रो राष्ट्रपतिका लागि सत्ता गठबन्धन र प्रमुख विपक्षी दलबाट अलग–अलग उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीसहित सत्ता गठबन्धनका अन्य नेता रहेका छन् ।

त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पूर्वमहामन्त्री कुलबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । गुरुङको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपति पदका लागि दिएको उम्मेदवारी भने फिर्ता लिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु