‘राजेशपायल राई’गृहजिल्ला आउने

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन १९

गायक राजेश पायल राई गृह जिल्लाको एक कार्यक्रममा आउने भएका छन् । खोटाङमा जारी गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को फाईनलका लागि गायक राई गृह जिल्ला आउन लागेका हुन् । उनीसंगै संगीतकार शान्तिराम राई, संगीतकार तथा गायक महेश खड्का, गायिका मेनुका राई र गायक धर्मराज पोखरेल जिल्ला आउने कार्यक्रम रहेको छ ।

आगामी फागुन २५ गते शनिबार दिक्तेलबजारको सरस्वति माविको प्रांगणमा हुने बृहत एकल गायन प्रतियोगिताको फाईनलमा गायक राईको विशेष प्रस्तुति रहने छ भने संगीतकार शान्तिराम र महेश तथा गायिका मेनुका निर्णायकको रुपमा आउन लागेको साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
गीतसंगीतको क्षेत्रमा राज गरिरहेका हस्तीहरु जिल्ला आउने भएपछि गीतसंगीतप्रेमीहरु उत्साहित बनेका छन् । जिल्लाको १० स्थानीय तहको ११ स्थानमा अडिसन गरि १ सय १८ जना प्रतियोगीबाट फाईनलमा ११ जना प्रतिभाहरु छानिएका छन् । भोटबाट ४० र निर्णायकबाट ६० अंक निर्धारण गरी प्रतिभा छनौट गरिने ब्यवस्था गरिएको छ ।

जिल्लामा लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफी प्राप्त गर्नेछन् । यस्तै, द्धितीयले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफी र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

प्रतियोगीताको फाईनलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका प्रदिप राई र बिना राई, नुनथलाका युवराज राई, बुइपाका प्रनिशा बिक र बिजयखर्कका पुष्कल राईले प्रतिस्पर्धा गर्दैछन् । दिप्रुङचुईचुम्मा गाउँपालिका छोरम्बुका संग्राम राई, बराहपोखरी गाउँपालिका फाक्टाङकी रोजिना राई र सोम मगर, रावावेशी गाउँपालिका कुभिण्डेका स्काइ भरत मगर र ओखलढुंगाका पर्शु गजमेर फाईनलका लागि छानिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु