राजधानीवाट छुट्ने सुमोले चर्को भाडा असुलेको गुनासो, एकतर्फी यात्रु बोक्नु पर्दाको बाध्यता भएको व्यवसायीको भनाई

शिखर गजरकोटे
सोलुखुम्बु, १३ असोज

दशैँ मनाउनका लागि काठमाडौँ देखि सोलुखुम्बु आउने यात्रुहरुले सुमो जीपले मनलाग्दी भाडा असुलेको गुनासो गरेका छन् ।

यात्रुहरुले केहि दिन यता २ हजार देखि २५ सय सम्म भाडा असुलेको बताएका हुन् । उनीहरुले सोलुखुम्बुका लागि छुट्ने सुमोले तोकिएको भन्दा बढि भाडा असुल्ने गरेको गुनासो गरेका छन् । अन्य समयमा १४ सयमा जिल्ला आउन पाउने भएपनि दशैँको समयमा डबल सम्म भाडा असुलेर मौकाको फाईदा उठाएको यात्रुहरुले बताएका छन् ।

तर यातायात व्यवसायीहरुले दशैँमा एकोहोरो यात्रुको चाप बढ्ने भएकाले निर्धारित भाडा भन्दा बढि लिनुपर्ने बाध्यता भएको बताएका छन् । दुधकुण्ड यातायात चावहिलका विकास बस्नेतले गाउँ जान चाहनेलाई सहमती मै भाडा लिने गरेको बताउनुभयो । एकतर्फी मात्रै यात्रुको चाप भएकाले सवारी धनिलाई पनि मार नपरोस् भन्ने हेतुले तोकिएको भन्दा केहि सय बढि भाडा लिएको बताउनुभयो । उहाँले यात्रुहरु गाउँ सम्म पुग्नुपर्ने र सवारी धनिलाई पनि एकतर्फीको यात्रुले घाटा नपरोस् भन्ने हेतुले अन्य समय भन्दा बढि भाडा लिएको स्विकार गर्नुभएको छ । बस्नेतका अनुसार सवारी चालकको पनि दशैँ भएकाले सवारी अभावमा पनि महंगो भाडाको चपेटामा यात्रुहरु पर्ने गरेको बताउनुभयो ।

चर्को भाडाका सन्दर्भमा जिल्ला प्रशासन कार्यलय र ट्राफिक विट सोलुखुम्बुले केहि गर्न नसक्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले राजधानीवाट छुट्ने सवारीलाई कारबाही गर्ने जिल्लाको कुनै अधिकार नहुने बताउनुभयो । उहाँले बरु दशैँ लगत्तै जिल्लावाट छुट्ने सवारी साधनलाई भाडा सम्बन्धमा निगरानी राख्ने र निर्धारित भन्दा बढि भाडा लिएमा कारबाही सम्म गर्न सक्ने थापाले बताउनुभयो ।

त्यस्तै, ट्राफिक विट सोलुले चर्को भाडा असुलेको सम्बन्धमा कुनै पनि यात्रुले गुनासो नगरेको बताएको छ । ट्राफिक नारायण बस्नेतले भाडा सम्बन्धमा गुनासो नआएको बताउदै जिल्लावाट बाहिरिने सवारी साधनलाई नियमन तथा कारबाही गर्ने मात्र अधिकार भएको बताउनुभयो । आज राजधानीवाट सोलुखुम्बुका लागि फाट्टफुट्ट मात्र सुमो जीप छुटेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु