मिति सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने एमालेको प्रस्ताव

हिमाल एफ एम
काठमाडौँ, १६ बैशाख

एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले भने दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुन: एकैचरणको निर्वाचन गर्न असंभव हुने बताए । ‘बजेटअघि जेठको ११/१२ गतेतिर एकैचरणको निर्वाचन गरौं भन्ने प्रस्ताव ओलीजीबाट आयो’कांग्रेस वरिष्ठ नेता पौडेलले भने,‘हामीले दोस्रो चरणको निर्वाचन तालिका आइसकेकले कठिनाई हुने बतायौं ।’

कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने भन्दै पुन: संसद अवरोधको संकेत दिएका थिए । कांग्रेस सभापति देउवाले विधेयकमाथि एमालेको सरोकारको विषयलाई समेत संशोधनमार्फत ल्याई सहमतिका लागि छलफल गर्न सकिने बताएका थिए । एमालेले बहुसंख्यक भाषालाई मान्यता दिने, प्रदेशसभा गठन नभएको अवस्थामा प्रदेशको सीमाकंनसम्बन्धी विषय व्यवस्थापिका संसदले हेरफेर गर्नसक्ने गरी संशोधन गर्न ल्याएको भन्दै आपत्ति जनाउँदै आएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहका प्रमुख/उपप्रमुखको सहभागिता नरहने गरी ल्याइएको संशोधनमा समेत एमालेको आपत्ति छ ।

कांग्रेससँगको भेटमा एमालेले भाषा र संविधानको धारा २७४ को संशोधनसम्बन्धी व्यवस्थामा मुख्य आपत्ति जनाएको थियो । साथै मधेसका एघार जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने तयारीप्रति पनि एमालेले आपत्ति जनाएको स्रोतले बतायो । ‘संविधान संशोधन सरकारले गर्ने होइन, संविधान संशोधनको प्रस्तावनै सरकारबाट आयो’एमाले अध्यक्ष ओलीको भनाइ थियो,‘भाषासम्बन्धी विषयलाई संविधानको अनुसूचीमा राखे पनि त्यो संविधानकै अंग हुन्छ । हामी कुनै पनि हालतमा मान्दैनौं ।’ ओलीसँगको छलफलपछि कांग्रेस नेताहरु सिधै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न पुगेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!