‘मलाई जन्माएकी आमा’

– बिरोध खतिवडा

‘आमा ! यो मातातीर्थ औंशीमा तपाइँलाई के उपहार दिऊँ ?’ अघिल्लो दिन साँझ फोनमा सोधेँ।
‘खै के दिन्छस् र ? वैशाख चल्दै छ, आफैँ बुझ् न।’ आमाले कति मीठो मजाक गर्नुभयो।
आमासँग अक्सर यस्ता मजाक भैरहन्छन् पो घरतिर गफ हुन थालेपछि । मैले आजसम्म आमालाई केही दिएको छैन र यो मातातीर्थ औंशी अर्थात् म जन्मिएपछिको २५ औँ मातातीर्थ औंशीमा पनि भौतिक रूपमा आमालाई मैले केही दिइहाल्न सक्ने अवस्थामा छुइनँ। अहिले म टाढा छु घरबाट । मैले केही दिन सक्थेँ भने अधिकांश आमाका छोराहरूले जस्तै बिहानै एक कल फोन अनि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा आमाको महानतामाथि व्याख्या गर्दै चार पंक्तिको पूर्वतयारीमा राखिएको कुनै चाउचाउजस्तो खाइने वा पढिने विचार प्रस्तुतिसहित त्यसको मुन्तिर आमाको एउटा तस्वीर मात्र ।

आजकल त आमाको मुख पनि तस्वीरमा हेरिन्छ। अझ भनौँ अरूलाई देखाइन्छ पो, त्यो पनि वर्षको एकदिन मात्र । आमालाई मैले दिनु केही पर्दैन। आमाले माग्नुहुन्न पनि। मैले खाए आमा अघाउनुहुन्छ, म मुस्कुराए आमाको मुहार उज्यालो हुन्छ। अरू आमाहरूलाई जस्तै हाम्री आमालाई पनि चलनचल्तीको भाषामा भन्नुपर्दा वहाँको सन्तानले ‘राम्रोसँग गरिखाइदिए पुग्छ।’
आफ्ना सन्तान टाढा नभैदिऊन्, सुखमा पनि दु:खमा पनि आफ्नै आसपास आफ्नै वरपर रहिदिऊन् भन्ने चाहना कुन आमालाई नहुँदो हो र ? हामीबाट हाम्री आमाले चाहेको पनि त्यही त थियो। जीवनको बीसौं वसन्त पार गर्दासम्म आमाबाट टाढिएर नबसेको मलाई एकाएक सेवामा प्रवेश गरेर घरबाट हिंडेपछि भने वहाँलाई अलि नमिठो लागेको थियो।

बेरोजगारीको पीडाले जेलेको हुनाले आमाभन्दा अलि कमै पिरोलिएँ म। बुवालाई म यो क्षेत्रमा लागेको मन परेको थिएन र अझै पनि असन्तुष्ट रहनुभएको कुरा वहाँले कतिपटक पोखिसक्नुभएको पनि छ— प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पनि। घरबाट कहिल्यै टाढा नगएको म, कक्षा १२ सम्मको पढाइ राम्रैसंग सकेपछि उच्च आशा र भरोसाका साथ व्यवस्थापन संकाय अन्तर्गतको बिबिए तहको शिक्षा आर्जन गर्न घरबाट केही टाढा विराटनगरमा महङ्गो खर्चमा पढ्न पठाउँदा पनि म उपलब्धि देखाउन नसकेको अवस्थामा घर फर्किएको थिएँ।

लगभग डेढ वर्षको समय र त्यस अवधिभर भएको आर्थिक व्ययको प्रतिफल शून्य भएकोले बुवामा त्यो असन्तुष्टि पैदा हुनु सामान्य थियो। यति भैरहँदा पनि आमाले कहिल्यै मप्रति जाहेर गर्नुभएन। आमाहरूको छातीमा पग्लिने भाग अलि बढी नै हुँदोरहेछ जस्तो लाग्यो मलाई त्यो बेला। यसो भनिरहनुको मतलब यो होइन कि आमाले केही नभनिदिएका कारण मैले त्यो ममता र स्नेहको गलत फाइदा उठाइरहें। मैले त्यसो गरिनँ। म बद्लिएँ। म यसरी बद्लिएँ कि पहिलाको मभित्रको ‘म’ गल्दै गयो। पढाइमा पहिलोपटक हात लागेको असफलताले गाँजेको मलाई त्यसको तनावबाट बाहिरिन निकै लामो समय लाग्यो। मलाई सबैबाट एक्ल्याउने तुच्छ सोचलाई म केही हदसम्म धपाउन सक्षम भएँ ।

यो बीचमा आमाले गर्नुभएको स्नेहयुक्त परामर्शले मलाई पुरानै दिनचर्यामा फर्किन धेरै सजिलो भयो। आमाका तरिका र मन्त्रहरू पनि कति अचम्मका हुँदारहेछन्। अध्यात्मभन्दा आदिम र विज्ञानभन्दा नयाँ मातृवात्सल्यले मेरो लगभग पुनर्जन्म नै भयो। तर जीवनका ती दुई वर्षमा मैले धेरै अमूल्य कुराहरू गुमाएँ । सायद ती अब कहिल्यै फर्किएर आउँदैनन् होला जीवनमा तर त्यसको ग्लानी र पश्चातापको आगोले भने सेकिरहने छ बाँचुन्जेलसम्म पनि।

सधैँ अभाव र विपन्नतासँग सङ्घर्ष गरिरहेको परिवारमा मेरो असफलता अझ एउटा ठूलो समस्या भयो। यसको असरबाट जतिसक्दो चाँडो माथि उक्सन मैले रोजगार हुने अहिले कायम रहेको बाटो रोजेँ । मैले जागिरे हुनु थियो— त्यो पनि सरकारी।
‘ तैंले साह्रै अप्ठेरो बाटो रोजिस्। तँ हिंडेको बाटो गलत त पक्कै छैन तर अप्ठेरो भने अवश्य छ। चिताएको पुगोस्, नराम्रो नचिताउनू,’ भनेर आमाले सधैँ मेरा निर्णयहरूको स्वागत गरिरहनुभयो।
‘घर कहिले आउँछस् ?’ प्रत्येक टेलिफोन कुराकानीमा आमाले सबभन्दा बढी सोधिरहने प्रश्नको जवाफ म तत्काल दिइहाल्न सक्दिन। कामको प्रकृति नै त्यही प्रकारको छ कि छुट्टी कहिले र कतिदिन मिल्छ थाहै हुँदैन।
‘मिलाएर आउँछु नि !’ आमाको दोहोरिरहने प्रश्नमा मेरो दोहोरिरहने रेडिमेड प्रतिक्रिया।
उमेरले चार दशक नाघिसक्नुभएकी आमाको बढ्दो उमेरसँगै रोग पनि बढ्दै गइरहेकोछ। सत्र वर्षको उमेरमा विवाह भएपछि अठारौं वर्षमा पहिलो सन्तान जन्मिएपछि सुरू भएको आमाको पाठेघरको बिमारले पनि यो वसन्त ऋतुसंगै आफ्नो अठ्ठाइसौँ वसन्त पार गरिसकेको छ। यसले दिन दुईगुणा र रात चौगुणा आमालाई चाप्दै गइरहे पनि आमाले यसको बारेमा हामी सन्तानलाई केही पनि थाहा नहोस् भनेर हरेक पीडालाई भित्रभित्रै दबाएर राखिरहनुहुन्छ।

तीस दिनको महिनामा बीस दिनभन्दा बढी त आमाको स्वास्थ्यमा समस्या आई नै रहेको हुन्छ। तर आमाले कहिल्यै त्यसको आभास हामीलाई नहोस् भनेर पीडा लुकाउने कोसिस गरिरहनुहुन्छ। बुढ्यौलीतर्फ ढल्किरहेको यो उमेरमा पनि आमालाई आफ्नोभन्दा बढी चिन्ता हाम्रै लागिरहन्छ। ‘तँ घर आउँदै छस् भन्ने सुन्नासाथ साह्रै रमाउनुहुन्छ ममी!’ बहिनी सुनाउँछे। घरमा केही मिठो मसिनो पाक्दा होस् या चाडपर्व आउँदा होस्, आमाको गाँस निलिँदैन हामी अगाडि नहुँदासम्म। म आज काममा फर्किन्छु भनेको दिन आमालाई त्यसै बिसन्चो जस्तो हुन्छ। त्यो दिन वहाँको अनुहार साह्रै गलेको देखिन्छ।
‘आगो माग्न आएजस्तो मात्र गर्छस् त नानी ! आउनभन्दा जान हतार हुन्छ तँलाई पनि ।’ भनेर निन्याउरो मुख लगाइरहनुहुन्छ।

थाहा छैन, म घरबाट निस्किएपछि आमाले कसरी सम्हाल्नुहुन्छ आफूलाई अनि कसरी सम्हालिन्छु म पनि ? म निकै पर पुगुन्जेलसम्म म हिँडेको बाटो हेरिरहनुहुन्छ । तर वहाँलाई पछाडि फर्किएर हेर्ने हिम्मतसम्म गर्न सक्दिन म। पानी सधैँ ओह्रालो मात्र बग्छ। माथिल्लो गह्राको पानी तल्लो गह्रामा झर्छ तर तल्लो गह्राको पानी माथिल्लो तलामा चढ्दैन। सायद त्यस्तै हुँदो हो माया पनि। आमाले मलाई गरेजस्तै त्यति नै माया म आमालाई पक्कै पनि गर्दिन होला । एउटी जन्मदिने आमालाई अपवादमा राखेर हेर्ने हो भने संसारमा मान्छेले सबैभन्दा बढी माया आफैँलाई गर्छ।

ध्रुव सत्य यो हो कि सबैका लागि आफ्नी आमा महान हुन्छन्। सबै आमाहरूले महान देखिने अवसर पाउँदैनन् तर महानता सबै आमाहरूमा हुन्छ। मेरी आमा पनि मेरा लागि महान हुनुहुन्छ । म वयस्क उमेरको भैसक्दा पनि ससाना कुराहरूको याद दिलाउने बानी छ आमाको। कहिलेकाहीँ सामान्य बिरामी परेर ओछ्यानमा सुत्दा पनि आमाको फोन आउँछ,’ मेरो छाती चर्क्यो ! बिरामी परेको होला, कस्तो छ?’
म छक्क पर्छु, कसरी थाहा हुन्छ हँ यस्तो कुरा आमालाई ? आमाका तरिका र मन्त्रहरू पनि अचम्मका हुँदारहेछन्। तिनको वात्सल्य अध्यात्मभन्दा आदिम र विज्ञानभन्दा नयाँ हुन्छ। सबै कुराले अर्थहरू बिस्तारै हराउँदै जानेछन्। आमाको अर्थ मात्रै पृथ्वीको अन्तिम प्राणीसम्मले बुझ्नेछ, आमाहरू यति महान कसरी हुन सक्छन् ? आमामा प्रकृतिले त्यस्तो के भरिदिएको होला जसले तिनलाई सदा अरूका निम्ति आफूलाई दान गर्न मात्र पठाएको छ? अरूकै पीडा व्यथा वेदनाहरूमा रुने वा चिन्तित हुने र सन्तानका सुखमा नै आफूलाई जीवन्त ठान्ने, आफू भोकैनाङ्गै र अशक्त हुँदा पनि सन्तानकै मायामा चुर्लुम्म डुबेर सुखानुभूति गर्ने कस्तो मन दिएको छ आमालाई विधाताले ? आफ्नै शरीरलाई पनि गह्रौंगरी बोक्दै अरू सन्तानका भारीहरू पनि खप्टनुपर्दछ आमाहरूले। आफूलाई आफू बनेर उभ्याउन कति कठिन छ एउटी आमालाई ! सधैं सलेदो बनेर आफैँलाई जलाई सन्तानलाई उज्यालो दिइरहेका आमाहरूको योगदान अहो! कति फराकिलो र उच्च छ आमाको ममता !
प्रसिद्ध अमेरिकी कवि रोबर्ट फ्रस्टले भनेका छन्, ‘ बाबुको माया पाउन तिमी योग्य हुनुपर्छ तर आमाले तिमी योग्य नभए पनि तिमीलाई माया गरिरहन्छिन्।’ जब आफ्नै आमालाई सम्झन्छु अनि कविका यी भनाइमा असहमती जनाउने ठाउँ देख्दिन म । सम्पूर्ण ममतामयी आमाहरूप्रती हार्दिक नमन !
ओखलढुङ्गे कवि कृष्णप्रसाद भट्टराईको ‘आमा’ कविताको एउटा पङ्क्ति “सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।” ले आमाको गरिमालाई विधातासँग कुम जोर्नसक्ने हैसियत प्रदान गरेको छ । मातृत्व शक्ति सामान्य शब्दमा व्याख्या हुनसक्तैन । देवीस्वरूपा आमाको श्रद्धा र सेवामा जुट्नु हाम्रो कर्म र धर्म दुवै हो । वेदले नै ‘मातृदेवो भवः’ भनेर हामीलाई दीक्षित गरिरहेको हुन्छ यदि हामी सुमार्गतिर सम्मुख हुन्छौं भने ।
मातातीर्थ औशीमा एक दिन सम्झेर वा भेटेर आमाप्रतिको श्रद्धा पूर्ण त हुनै सक्तैन । यो दिन त केवल अज्ञानीहरूलाई झस्का दिँदै मूल बाटो पहिल्याउन निर्देश गर्ने हाम्रो परम्परा वा संस्कृतिको सङ्केत मात्र हो । हामी सबैलाई थाहा छ, एकदिन खाएर कोही पनि भोलिपल्ट पनि अघाउँजी रहनसक्तैन । त्यसैगरी एक दिन भेटेर वा सेवाको औपचारिकता पूरा गरेर आमाप्रतिको समर्पण पर्याप्त हुनसक्तैन ।
घरमा नै बस्नेका लागि मातृसेवाको सुअवसर बढी नै जुट्छ । तर कामको सिलसिलामा टाढा रहेका सन्ततीले पनि निरन्तर आमाको सुखदुःखको ख्याल राख्नु विशिष्ट कर्म हो । म यस लेखमा कसैलाई पनि आमाको सेवामा ध्यान दिनुपर्छ भनेर उपदेश दिन चाहन्न । म त आफैंलाई सचेत गराउँदै मौका मिल्नासाथ फोनबाट कुराकानी गरेर होस् वा प्रत्यक्ष भेटेर नै आमाको भौतिक वा मानसिक अवस्थाबारे सोधीखोजी गरी अत्यावश्यक परेको भए यथोचित प्रबन्ध समेत गरेर सेवामा निरन्तर प्रतिबद्ध रहन वाचा गर्दछु । सप्तशति दुर्गा पाठमा भनिएको कुरा स्मरण गर्दै लेखको बिट मार्दछु— “या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।”

Comments

comments

सम्बन्धित शीर्षकहरु