भानुभक्तको कृषि कर्म : माछा र बाख्रापालन एकैसाथ

सोलुखुम्बु, साउन १८


सोलुदुधकुण्ड नगरपालिका ७ साल्मेका भानुभक्त श्रेष्ठ यूवाहरुका लागि उदाहरणीय उद्यमी बनेका छन् । सानैदेखि कृषिमा चासो राख्ने भानुभक्तले अहिले बाख्रापालन र ट्राउड माछापालनलाई संगै अघि बढाएका छन् । जस्ले उनको दैनिकी व्यस्त बनाएको छ ।


वि.स. २०७२ साल देखि प्रगतीशील पशु तथा कृषि फार्म दर्ता गरेर व्यवसायीक बाख्रापालन थालेका उनी अहिले सफलतातर्फ उन्मुख छन् । वितेका ५ बर्ष पाठा पाठी उत्पादनमा समय खर्चेका उनी अब मासु उत्पादनमा केन्द्रित हुने सोचमा छन् ।


अहिले उनको फार्ममा खरी, सिनाल जातका लोकल बाख्रा छन् । लोकल बाख्रामा विटल र बोयर जातको क्रस गरेर पाठापाठी उत्पादन थालेका उनले जिल्ला भित्र र बाहिर गरि बर्षेनी १५० भन्दा बढि पाठापाठी विक्रि गर्दै आएका छन् ।


करिब दुई लाख विउ पूँजी लगानीबाट बाख्रा पालन शुरु गरेका उनको अहिलको पूँजी २५ लाखको हाराहारीमा पुगेको छ । गएको हिउँदमा १४० वटासम्म बाख्रा पुगेको थियो । बर्खामा पालन पोषणमा समस्या हुने भएकाले अहिले खोरमा ८५ वटा बाख्रा छन् । उनी भन्छन्, ‘५ महिना पालेर ६२ हजारमा बोयर बाख्रा विक्रि गरेको अनुभव छ । केही बाख्राले एक वेतमा ४ वटासम्म पाठापाठी जन्माएका छन् ।’


बाख्रापालनमा कृषि उद्यमी भानुभक्तका स–परिवार लागेका छन् । उनी भन्छन्, ‘कृषि व्यवसायको नेतृत्व आफूले गरेको भएपनि परिवारका सदस्यहरु यहि व्यवसायमा भिडेका छौ । दुख अनुसार आम्दानी पनि राम्रो छ । हामी सन्तुष्ट छौ ।’ शुरुमा भेटेनरी कार्यालयबाट खोर सुधारमा २ लाख बाहेक बाख्रा पालनमा अन्य अनुदान र पुरस्कार नपाएको उनको भनाई छ । उनले करिब १५ सय रोपनी जग्गा भाडामा लिएर बाख्रालाई चरिचरण गराउदै आएका छन् । सोही कामको लागि २ व्यक्तिलाई पुर्णकालिन रोजगारी समेत दिएका छन् ।


वितेका दुई बर्ष देखि भानुभक्त घर माथीको भिरालो जमिनमा ट्राउड माछा पालनमापनि केन्द्रित बनेका छन् । बाख्रापालनले एउटा लय समाति सकेपछि स्थानीय संभावनाको रुपमा रहेको माछापालन २०७५ सालदेखि थालेको उनी बताउछन् । करिब १५ लाखको लागतमा आवश्यक संरचना तयार पारेपछि उनले ट्राउड माछापालन शुरु गरे । रसुवाबाट माछाका भुरा ल्याउदा निकै घाटा व्यहारेका भानुभक्तले दोस्रो पटक सिन्धुपाल्चोकबाट भुरा ल्याएर हुर्काइरहेका छन् ।


अहिले पनि प्रतिकेजी १६ सयमा माछा विक्रि गरिरहेका उनले आगामी बर्ष देखि माछाका भुरा उत्पादनको काम आफैँले गर्ने सोच बनाएका छन् । ३ सय केजी माछा विक्रि गरिसकेका उनले आगामी सिजनमा २ हजार केजी ट्राउड उत्पादन गर्ने लक्ष्य लिएका छन् । १० जना ट्राउड माछा पाल्नेहरुको समूह बनाएर अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ट्राउड माछापालन ब्लककार्यक्रम संचालनमा छ । सो कार्यक्रम मार्फत बर्षेनी आउने अनुदान रकमले माछा पालनलाई थप व्यवस्थित बनाउन सहयोग तथा प्रेरित गरेको कृषि उद्यमी भानुभक्त श्रेष्ठ बताउछन् ।


उनी भन्छन्, ‘अनुदानको पछि लाग्ने हैन्, अनुदान पछि लाग्ने गरि काम गरिरहेको छु । कर्मको फल मिठै होलाभन्ने आशा छ ।’ बाणिज्य बैँकबाट कृषि सहुलियत ऋण लिएर आफ्नो व्यवसायलाई अझ व्यवस्थित र व्यवसायीक बनाउन तल्लिन उनको बाख्रा र माछाको स्याहारमै दिन वित्छ ।


विदेशिएका यूवाहरुलाई गाउँमै स्थानीय संभावनालाई आम्दानीमा परिणत गर्न सकिन्छ भन्ने सन्देश प्रवाहगर्न सफल कृषि उद्यमी भानुभक्तले घरमै सानो होटल समेत चलाएका छन् । माछा हेर्न आउनेलाई माछा चखाएर पठाउने वा समूहमा आएर रमाउन चाहनेलाई पनि खानपिनको व्यवस्था मिलाएका उनले आर्थिक उर्पाजनको हिसावले गाउँमै दरिलो जरा गाड्ने योजना सुनाए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!