‘बाहाने महोत्सव’को तयारी पूरा

खोटाङ फगुन १२


“बाहाने पोखरी ऐंसेलुखर्क गाउँपालिकाको शान, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथमा मनाउन लागिएको ‘प्रथम बाहाने महोत्सव’को तयारी पूरा भएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा अवस्थित ऐतिहासिक बाहाने पोखरीको प्रचार–प्रसार गर्दै पाँच दिन मनाईने ‘प्रथम बाहाने महोत्सव’को तयारी पूरा भएको हो ।

दुई सय मिटर क्षेत्रफलमा फैलिएको बाहाने पोखरीको नामबाट मंगलबारदेखी मनाईने महोत्सवका लागि पोखरीसम्म पुग्ने सडक, स्टल र स्टेज निर्माण भइसकेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो ।

पानीको मुहान नदेखिए पनि बाह्रैमास पानी हुने र कहिल्यै पानी नसुक्ने अग्लोडाँडामा रहेको बाहाने पोखरी धार्मिक तथा पर्यटकीय स्थल हो ।

महोत्सवका लागि आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले पिउने पानी, विधुत व्यवस्थापनलगायतको व्यवस्थापन गरिसकेको निरौलाको भनाई छ ।

महोत्सवकै अवसरमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी, सांगीतिक कार्यक्रम, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, स्थानीय खानाका परिकारको स्वाद चाख्न पाइनेछ ।

फागुन १३ देखी १७ सम्म पोखरी आसपासमा महोत्सव मनाउँदा आफैमा ऐतिहासिक वाहाने पोखरीले सवैको ध्यान केन्द्रीत गर्ने र पर्यटकीय क्षेत्रमा रुपान्तरण हुने गाउँपालिकाको अपेक्षा छ । मनमोहक पोखरीबाट खोटाङको अधिकांश स्थान र छिमेकी जिल्लाहरु अवलोकन गर्न सकिन्छ ।

पोखरीको पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपाहरु छन् । केही माथि अन्य आकृतिका संरचना र पोखरी आसपासका गाउँवस्तीमा चौरी, याक, भेडाहरु पाईने भएकाले बाहाने पोखरी पर्यटकीय हब बन्नेछ ।

महोत्सव उद्धघाटनका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आउने गाउँपालिकाले जानकारी दिइएको छ ।

महोत्सवमा लाखौंको संख्यामा आन्तरिक तथा बाह्रय पर्यटक आउने अपेक्षा गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!