बाडुली किन लाग्छ ? यस्तो छ– बाडुली लाग्नुको रहस्य

सोलुखुम्बु, कात्तिक ५ गते । सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ ।

hiccupsबाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ । बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।

बाडुली किन लाग्छ ? यसको जवाफ अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुली लाग्न सक्छ ।

त्यसो त, प्राचीन कालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र त्यसबेला गिलले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् । विशेष गरि फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकाशक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पति भएको जीवबाट विकास भएको हो । त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो । जुन बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको माध्यमबाट सास फेर्ने गर्थे । पछिल्लो समय पेरिसको अस्पतालमा क्रिस्चियन स्ट्राउसको नेतृत्वमा रहेका वैज्ञानिहरुको एक टोलीले गरेको दाबी अनुसार बाडुलीकै जस्तो प्रक्रियाले पानीमा बस्ने र फुल्काको मद्दतले सास फेर्ने जीवहरुको फुल्काको प्वाललाई खोल्ने र बन्द गर्ने क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ ।

बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान जारी नै छ । (एजेन्सी)

Comments

comments

सम्बन्धित शीर्षकहरु