प्रविधिले छोएन दुध प्रशोधनलाई दही मोही नविक्दा कृषक दिक्दार

राधा ढुंगाना
सोलुखुम्बु, १२ फाल्गुन

विहान सबेरै उठ्यो, ठेकीको दही जम्मा गरेर लाजिममा खन्यायो अनि मदानीको घुर्राे समातेर मोही पा¥पो । यो दैनिकी हो सोलुखुम्बुको सल्यान ८ की सिता कार्कीको । ५ वटा लौनो भैँसिकी धनी सितालाई घाँस काट्न भन्दा बढी दुख र चिन्ता मोही पार्नमा लाग्छ । अनि त्यो भन्दा पनि दही, मोही र घिई खेर जादाँ मन कटक्क खान्छ । सिता मात्र होईन सल्यान ८ मै ३ गाई र ३ वटा लाहुरी भैसी पालेकी मनमाया राईको पनि यत्तिखेर २ गाई र २ भैँसि लैना छन् । पाथि जाने दुधेरो भरि बेहान बेलुका नै दुध जम्मा गर्ने उनलाई पनि दही जम्मा गर्न र मोही पारेर घिउँ निकाल्न धेरै गाह्रो छ । ‘दिनभरि घाँस र खोलेमै दिन बित्छ, दुध त जम्मा हुन्छ नि दही जम्मा गरो, मोही पार्ने गाह्रो’ मनमायाले भनिन्, ‘न भने जत्रो ठेकी पाईन्छ मोही पार्नलाई, सानो भाडामा पाता दुखेरै नसक्ने के नानी ?’

सिता र मनमाया जस्ता दर्जनौ पशुपालक कृषकहरु दुग्ध जन्य सामागृको प्रशोधन गर्ने परम्परागत प्रविधिबाट हैरान छन् । जसो तसो प्रशोधन गरिएको सामागृले बजार पाउने त कुरा त परै जाओस, त्यही दही र मोहीको भैँसीका लागि खोले बनाउन बाध्य छन् । ‘दही, मोही विक्री को त कुरै छाड्नुस्, सित्तैमा खाईदिने त मान्छे छैन’ पिडा पोख्दै सल्यान ३ की हरिमाया निरौलाले भनिन्, ‘हामी त धेर भएको दही र मोही भैसीलाई नै खोले बनाएर दिन्छौँ ।’ यहाँ कृषकहरुलाई दही, मोही र अन्य दुग्ध जन्य पदार्थको मुल्य रेडियोमा सुन्दा थकथकि लाग्छ । ‘रेडियोमा दुध, दही र मोही लिटरको यत्ति रुपैँया उत्ति रुपैँया भनेर सुनिन्छ, के गर्नु हाम्रो गाउँमा कस्ले किनेर खाने र ?’ प्रश्न गर्दै सल्यान ७ का शम्भु राउतले भने, ‘ठाउँमा लगे त विक्थ्यो होला, कस्ले लाने, कहाँ लाने ?’
madani
यी त सोलुखुम्बुको ग्रामिण भेगका प्रतिनिधि समस्या र वास्तविक्ता मात्र हुन् । उनीहरुको गाउँ गाउँमा दुग्ध जन्य प्रशोधन केन्द्र(डेरी) को ब्यवस्था गरिदिनु पर्ने माग छ । ‘हाम्रो गाउँमा पनि डेरी खुले देखि हामी पनि धेरै पैसा कमाउने थियौँ, मेहेनेत पनि खेर जाने थिएन’ जिल्लाको दक्षिणि क्षेत्र तिंलाका हरिबहादुर कार्कीले नागरिक सँग भने । डेरि संचालन गर्न धेरै पैसा आवश्यक पर्ने भएकाले उनीहरुमा ईच्छा शक्ति भएपनि आर्थिक अभावकै कारण डेरी चलाउने कुरा कल्पनामा मात्र सिमित भएको छ । सिंगो जिल्लामा एउटा २–३ वटा डेरि मात्र सञ्चालनमा छ । सदरमुकाममा मात्र रहेका ती डेरिहरुले न ग्रामिणभेगका किसानको सामान आपुर्ति गर्न सकेका छन् न त ग्राहकको माग नै धान्न सकेका छन् । हाल सदरमुकाम सल्लेरीमा दुधप्रतिलिटर रु ११०।–, दही प्रतिलिटर रु.१३० र मोही ६० रुपैँया लिटरमा विक्री हुन्छ । तर ठीक विपरित गाउँका पशुपालकहरुले भने आफ्नो परिश्रमको मुल्य पाउन सकेका छैनन् ।

सदरमुकाममा पनि ब्यवशायीक कृषि तथा ब्यापार परियोजना (प्याक्ट)ले अनुदान सहयोग उपलब्ध गराए पछि मात्र डेरि खुलेका हुन् । पशुपालनलाई कृषकहरुले ब्यवशायीक रुपमा अगाँल्ने र जिल्ला कृषि विकास कार्यालयले पनि यसको ब्यवशायीक विकासमा प्रबर्धनात्मक कार्यक्रम सञ्चालन गरे पनि प्रशोधन(डेरी) केन्द्र खोल्न कसैले पहल गरेको पाइदैन । भौगोलीक विकटताका कारण गाउँमा कृषकहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थले बजार नपाएको जिल्ला पशु सेवा कार्यलयको बुझाई छ । यातायातको पँहुच नहुदा किसानको महेनत खेर गएको भन्दै पछिल्लो समय कृषकहरु गाउँ मै आफुले उत्पादन गरेको दुग्ध पदार्थबाट, छुर्पी, सेर्गा, चिज जस्ता परिकारहरु बनाएर बिक्र गर्न थालेका छन् । अझ प्रविधिको पुग्ने हो भने कृषकहरुको मेहेनत खेर नजाने थिएन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु