प्रअ माथि अनियमितताको आरोप

दिलीप खत्री
खोटाङ भदौ ६,

भवन निर्माणकाक्रममा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माविका प्रअ कुमार पराजुलीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।

प्रअ पराजुलीमाथि आर्थिक वर्ष २०७२÷०७३ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत प्राप्त भएको ६ कोठे भवन निर्माणकाक्रममा अनियमितता भएको आरोप लागेको हो ।

पुःननिर्माण प्राधिकरणको अनुदानमा विद्यालय भवन निर्माण गर्नेक्रममा अनियमितता भएको भन्दै आवाज उठ्न थालेपछि विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम थापाको संयोजकत्वमा गठन गरिएको छानविन समितिले नौ लाख १९ हजार ८३० रुपैयाँ बराबरको बिलभपाईलाई अयोग्य ठहराएको प्रतिवेदन सार्वजनिक भएको छ ।

असार १७ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा भवन निर्माणकाक्रममा अस्वभाविक खर्च भएको भन्दै आवाज उठेपछि गठन गरिएको तीन सदस्यीय छानविन समितिले भदौ ३ गते आफ्नो अध्ययन प्रतिबेदन बुझाएको हो ।

प्रतिबेदनमा नौ लाख १९ हजार ८३० रुपैयाँ बराबरको बिलभपाई अयोग्य ठहराइएको व्यवस्थापन समितिका अध्यक्ष राजन बञ्जराले बताउनुभयो । क्रमागत योजना अन्तरगत जिल्ला शिक्षा कार्यालयमार्फत छ कोठे भवन निर्माणका लागि ४८ लाख बजेट प्राप्त भएको थियो । तर, तत्कालिन गाविसको ९० हजार र विद्यालयको आन्तरिक श्रोतको रकम थप गरेर कुल ८२ लाख ९७ हजार ९२२ गरेर नौ कोठे भवन बनाइएको छ ।

भवन निर्माणकाक्रममा आन्तरिक श्रोतबाट ३४ लाख ९७ हजार ९२२ रुपैयाँ खर्च भएको देखिएको छ । तोकिएको डिजाईनमा परिवर्तन गरेर नौ कोठे भवन बनाउन लाग्दा तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले अस्वीकार गरेपछि पुःननिर्माण प्राधिकरणमै पुगेर भवनको डिजाइन परिवर्तन गरिएको थियो ।

विद्यालय भवन निर्माणका लागि शिखर ट्रेडर्स गाईघाटबाट जस्तापाता खरिदमा प्रयोग भएको ५३४ नम्बरको पान बिलमा दुई लाख सात हजार खर्च देखाइएको, स्टीमेट नामको एउटै बिलमा एक लाख ५० हजार, शिव कपडा तथा किराना पसल खोटाङबजारको विलबाट ढुंगा, ढुंगा तथा ढुवानीको विल बनाएको पाइएको छानविन समितिले जनाएको छ ।

कतिपय रकम बुझेका व्यक्तिको हस्ताक्षर नभएको, भ्याट बिल नभएको, भर्पाई दोहोरो परेको, सम्वन्धित व्यक्तिलाई सोध्दा थाहा नभएको, कतिपय व्यवसायीले आफूले बिल नकाटेको बताएको आधारमा ९ लाख बराबरको बिल भर्पाईलाई पूर्णरुपमा अयोग्य ठहराइएको छानविन समितिले जनाएको छ ।

प्रअ पराजुलीले भने काम गरिरहेको अवस्थामा नियोजित रुपमा फसाउन खोजेको बताएका छन् । भवन निर्माणका विषयमा मलाई फसाएर बदनाम गर्न खोजिएको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु