पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित


दिलिप खत्रि,
खोटाङ, कार्तिक २५

उपनिर्वाचन आचार संहिताको कारण खोटाङमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजनका काम प्रभावित भएको छ । योजना तथा बजेटको टुंगो लगाउनका लागि आईतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचार संहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ । लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन् ।

कात्तिकभित्र विनियोजन गरिसक्नुपर्ने स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट तथा कार्यक्रम निर्वाचन आचार संहिताको कारण अनिर्णित बनेको समितिका संयोजक रहेका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए । निर्वाचन आचार संहिता लागू भइसकेकाले हालका लागि स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन सम्वन्धी बैठक स्थगनको माग गर्दै कांग्रेसका जिल्ला सदस्य ज्ञानेन्द्र जोशीले गत शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका थिए । निबेदनका आधारमा परामर्श समितिको बैठकको शुरुमै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले निर्वाचन आचार संहिताको प्रश्न उठाएका थिए ।

साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन गइरहेकाले कांग्रेसले आचारसंहिताको विषय उठाएको जनाएको छ । निर्वाचन आचार संहिताको विषयले बैठकमा अनौपचारिक छलफल मात्र भएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु