पाँच पोखरी (पर्यटन चिनारी)

हिमाल एफ एम, सोलुखुम्बु,

प्राकृतिक सुन्दरताले नै भरिपुर्ण तर धार्मिक महत्व समेत बोकेको ठाउँ हो, पाँच पोखरी । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट पुर्ब तर्फ लाग्दा पावै, सोताङ हुदै बुङको माथिल्लो क्षेत्रमा पुग्दा पाँच पोखरी भेटिन्छ ।

पाँच पोखरी जानका लागि सडकको सुबिधा छैन । सदरमुकाम सल्लेरीबाट पुरै तीन दिन हिडेपछि पाँच पोखरी पुगिन्छ । सल्लेरीबाट नेले, देउसा, पावै, सोताङ हुदै बुङ पुग्नु पर्दछ । बुङ चोक हुदै खिरौले, छाराखर्क, चोलेम, हुरहुरे हुदै सामन्द्री सतहबाट करिब ४ हजार ३ सय ५० मिटरको उचाइमा पाँच पोखरी भेटिन्छ । यहाँ साना ठुला गरि ५ वटा पोखरीहरु रहेका छन् । यी पोखरीहरुलाइ पारिवारिक नाताको सम्बन्धको रुपमा बर्णन गर्ने गरिएको छ । ती तालहरु मध्ये सिरानमा रहेको सबैभन्दा ठुलो पोखरीलाइ बुढा ताल अथवा बुबा पोखरीको रुपमा भक्तजनहरुले पुज्ने गरेका छन् । सोही पोखरीबाट बग्ने पानी करिब १ सयटर तल अर्काे पोखरीमा पुग्छ । जस्लाइ बुढी पोखरी अथवा आमा पोखरीको नामबाट नामाकारण गरिएको छ । यस्तै बुबा पोखरीबाट बगेको पानी नजिकैको अर्काे पोखरीमा पुग्दछ । जुन पोखरीलाइ छोरा पोखरीको नामले चिनिन्छ । सोही पोखरीबाट बगेको पानी नजिकैको अर्काे पोखरीमा पुग्दछ, जस्लाई बुहारी पोखरीको नामले चिनिएको छ । यस्तै पाँचौ पोखरी कमरा पोखरीले चिन्ने गरिएको छ ।

नजिकमा कुनै मानब बस्ती नभएकोले यस पोखरीको जललाइ निक्कै चोखो मान्ने गरिएको छ । प्रत्येक बर्ष बैशाख महिनाको चण्डी पुर्णिमा र श्राबण महिनाको जनैपुर्णिमामा ठुलो मेला लाग्ने यस पोखरीको जल सेवन गर्न पाउदा दर्शनार्थीहरु आफुलाइ भाग्यमानी ठान्ने गर्दछन् ।

छाराखर्कबाट दिनभरी गगनचुम्बी पहाडलाइ छिचोल्दै हुहुरेको उकालो काटेर पोखरी पुग्न पुरै एक दिन लाग्दछ । पछिल्लो केही बर्ष देखि जिबिस र गाबिसको लगानीमा बाटो निर्माण गरिएपछि पहाडका बीचमा पनि सजिलै यात्रा गर्न सकिन्छ । तर उच्च लेक क्षेत्रमा भएकाले बृद्ध बृद्धा, बालबच्चा तथा शारिरिक रुपमा अशक्त वा कमजोर रहेका मानिसहरुलाइ भने यो पदयात्रा गर्न कठिन हुन सक्छ ।

पाँच पोखरीको दर्शन गर्दा मनले इच्छ्एको चाहनाहरु पुरा हुने धार्मिक बिश्वास रहेको छ । पोखरीको बारेमा बेला बखतमा अध्ययन अनुसन्धान नभएर होला तालको धार्मिक किंबदन्तीहरुको ब्याख्या गर्ने पुर्खाहरु समेत भेट्न कठिन छ । यद्यपी धार्मिक पर्वहरुमा पुग्ने भक्तजनहरुले शलौकिक शक्तिपीठको रुपमा पाँच पोखरीलाइ पुज्ने गर्दछन् ।

पाँचपोखरी जानका लागि सामान्य पहाडमा गरिएको यात्रा झैँ तयारी गरेर पुग्दैन । सधै चिसो रहिरहने सो क्षेत्रमा बस्नका लागि होटल, लज तथा पसलहरुको समेत उचीत ब्यबस्था नभएको छैन । भोजपुरको अरुण भ्याली हुदै सोलुखुम्बुको गुदेलबाट मेरापीक क्षेत्र जाने मुख्य पदमार्ग पनि सोही भएकाले पर्यटकहरुको आवत–जावत सिजनका बेला हुने गर्दछ । तर उनीहरु पनि गाँस, बास र आवास सहितको सम्पुर्ण तयारी सहित गु्रपमा आउदा ब्यबसायीहरुले समेत ब्यबस्थीत होटल संचालनमा चासो दिएका छैनन् । त्यसो त यस्ता पर्बका समयमा पुगने सयौँ भक्तजनहरु स–साना छाप्राहरुमा बस्न बाध्य छन् । बिजुलीको समेत ब्यबस्था नहुँदा संचारको युगमा मोबाइल चार्ज गर्न समेत कठिनाइ हुने गरेको यात्रीहरु बताउछन् ।

सोही पाँचपोखरीलाइ दायाँ बायाँ पारेर मध्य भागबाट त्यस देखि माथिल्लो स्थानहरु समेत सजिलै जान सकिन्छ । खोलाखर्क, कोठे, ठाङनाक, खारे सहित मेरापीक जाने पदमार्ग पुग्न सकिन्छ । त्यसो त त्या क्षेत्रको पदमार्गमा सुबिधाहरुलाइ फराकिलो बनाउन आबश्यक देखिन्छ ।

प्रस्तुती – विक्रम श्रेष्ठ

Comments

comments

सम्बन्धित शीर्षकहरु