परिश्रमले दिलाएको सन्तुष्टि–सौन्दर्य व्यवसाय विशेष

सपना न्यौपाने
सोलुखुम्बु, १९ मंसिर

सोलुखुम्बुका महिलाहरु सौन्दर्य व्यवसायमा आकर्षित बनेका छन् । एक समय व्यूटिपार्लर भनेपछि लजाउने दिदीवहिनीहरुले अहिले व्युटिपार्लर व्यवसायलाई दरिलो आम्दानीको स्रोत बनाएका हुन् ।

१० बर्ष अघि धरानकी उषा भुजेलले सदरमुकाममा व्यवसाय थालिन् । परिवारको साढे २ लाख लगानीमा व्यूटिपार्लर र टेर्लस एकैसाथ अघि बढाएकी उनले राम्रो आम्दानी गरिरहेकी छिन् । अझै पनि ग्रामिण भेगमा व्यूटिपार्लर भनेपछि हेयको दृष्ट्रिले हेरिएपनि उषाले सौन्दर्य व्यवसायलाई आम्दानीको प्रमुख स्रोत बनाएकी छिन् ।

उषा मात्रै हैन सल्लेरीमा अन्य दिदीवहिनीहरु पनि सौन्दर्यको सामाग्री विक्रिमा लागि परेका छन् । सोलुदुधुकुण्ड नगरपालिका रोशीकी रमिला बस्नेतले सहकारीवाट ऋण लिएर कस्मेटिक पसलमा लगानी गरेकी हुन् । २ बर्षको अवधिमा पार्लर सम्बन्धि तालिम लिएर सौन्दर्य व्यवसायलाई फराकिलो पार्ने सोच बनाएकी उनले व्यक्तिगत खर्च मात्र धानेकी छैन्न की आफ्नो पढाईमा समेत लगानी गरेकी छिन् ।

फाप्लुकी सुमना तामाङ उमेरले २५ बर्ष पुगिन् । उनले ३ बर्ष देखि सल्लेरीमा पार्लर तथा कस्मेटिङ पसल गर्दै आएकी छिन् । केहि समय अरुको पसलमा काम गरेकी उनले अहिले आफ्नै लगानीमा व्यवसाय संचालन गरेकी हुन् । सौन्दर्य व्यवसायवाट मासिक ३० देखि ३५ हजार कमाई गर्ने सुमनाले पारिवारिक खर्च कटाएर बचत समेत गर्दै आएकी छिन् ।

सिप सिकेर आफनो परिश्रममा केहि गर्न चाहने महिलाका लागि विभिन्न सहकारी संस्थाले ऋण उपलब्ध गराउदै आएको छ । खाली बसेर अनावश्यक तनाव खेप्नु भन्दा सानो लगानीमा शुरु गर्न सकिने स्थानीय संभावनालाई पहिचान गरि कामको शुरुवात गर्न सके आत्मनिर्भर मात्र होईन, आर्थिक समस्या समाधानमा समेत टेवा पुग्नेछ । घरभित्र र बाहिरको अनावश्यक तनाव र हिंसा कम गर्न ईच्छाशक्ति सहित स्व–रोजगारको बाटो अपनाऔँ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु