पक्की पुल अलपत्र

बिक्रम श्रेष्ठ ।
हिमाल एफ एम, चैत्र ३- काठ्माण्डौँ–जिरी–सल्लेरी सडक खण्ड अन्र्तगत सोलुखुम्बुको सल्लेरी र तामाखानीको बीचमा पर्ने सोलुखोलामा बन्न थालेको पक्की पुल करिब नौ महिनादेखि अलपत्र परेको छ । करिब तीन करोड १७ लाख रूपियाँको लागतमा बन्न लागेको पुलको सामान्य काम शुरु गरेर लामो समयदेखि अलपत्र बनेको हो ।
सिन्धुलीको अमर कन्ट्रक्सनले २०६९ असारमा सम्झौता गरी निर्माणको जिम्मा पाएपछि अघिल्लो सिजनमा आधारभूत काम थालेको भएपनि वर्षायाम शुरु भएसँगै काम बन्द गरेको थियो । १५ महिनाको समय सिमा पाएको कम्पनीले लामो समयदेखि काम अलपत्र छाड्दा समयमा पुल नबन्ने पक्का जस्तै भएको छ ।
सुनकोशीमा पुल नभएकाले ठूला सामान ढुवानीमा समस्या भएको कारण देखाउदै आएको कम्पनीले पुल बनेको लामो समय भइसक्दा समेत काम शुरु गर्ने कुनै छाँटकाँट देखाएको छैन भने ठेकेदारको समेत अत्तोपत्तो छैन । पुन निर्माणसँग सम्बद्ध व्यक्तिहरुले ठेकेदारका प्रतिनिधिलाई फोन गर्दा सम्पर्क नभएको बताएका छन् । निर्माणका केही सामान अपुग भएको भन्दै काठमाडौँ जान्छु भनेर ठेकेदार गएको तर महिनौँ बित्दा समेत ठेकेदार नआएको जिल्ला बिकास समितिका एक अधिकारीले जानकारी दिए ।
समयमा पुल सम्पन्न नहुँदा सदरमुकाम संगै रहेको तामाखानी गाबिस पनि सम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । यातायात सुचारु भएदेखि बजार भाउ सस्तिने आशामा रहेका तामाखानीबासीहरु चिन्तित भएका छन् । अघिल्ला वर्षहरुमा हिउँदको समयमा ढुवानीका साधन चल्ने गरेको तामाखानीमा यस वर्ष पुन बनाउन खोलामा डोजरले बाटो भत्काएपछि ढुवानी समेत हुन सकेको छैन ।
“ठेकेदारको लापर्वाही र जिल्ला प्राविधिक कार्यालयको वेवास्ताका कारण पुल अलपत्र बनेको हो” –तामाखानीका धनबहादुर तामाङले आक्रोश पोखे । सडक पुगेको दुइवर्ष भएपनि पुल समयमा नबन्दा दैनिक प्रयोगका समानहरु समेत मानिसले बोकेर लानुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । सदरमुकाम नजिकै हुदा समेत आफुहरुले त्यसको फाईदा लिन नसकेको अर्का स्थानिय कर्मा ग्याल्जेन शेर्पाले गुनासो गरे ।
काम समयमा शुरु गर्नका लागि ठेकेदारलाई ताकेता गरिरहेको जिल्ला प्रविधिक कार्यालयका इन्जिनियर मुक्ति भटराईले बताएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधिले सामान ढुवानीका लागि तयारी भइरहेकाले चाँडै काम शुरु गर्ने बताएको उनको दाबी छ । यता निर्माणस्थलमा भने केही माटोको ढिस्को भत्काउने बाहेक अन्य कुनै काम थालिएको छैन ।
“माघको पहिलो सातासम्म आइपुग्ने कुरा फोनबाट गर्नु भएको थियो तर अहिलेसमम अत्तोपत्तो छैन” नाम उल्लेख नगर्ने सर्तमा पुल निर्माणमा संलग्न एक श्रमिकले बताए । उनका अनुसार पुल निर्माण कार्यलाई ठेकेदारले गम्भीर रुपमा लिएका छैनन् । पुलका बन्ने भनेपछि स्थानीय बासिन्दा धेरैले गिटी कुटेर राखेको भएपनि तत्काल पुलको काम सुरु हुने अबस्था नदेखे पछि कुटेको गिटीहरु बेच्ने योजना उनीहरुले बनाएका छन् ।
उक्त पुल निर्माण भए देखी स्थानिय सर्बसाधरणले लाभ त लिन्छन् नै सोलुखुम्बु देखी काठमाडौ सम्मको सिधा मोटरबाटोका लागी समेत बाटो खुल्नेछ । सोलुखुम्बु देखी काठमाडौ सम्म आवत जावत गर्न तथा ढुवानीका लागी हाल ओलढुङगा हुदै सिन्धुली– खुर्काेटको लामो यात्रा तय गर्नु परिरहेका सोलुखुम्बु बासीलाई काठ्माण्डौँ–जिरी–सल्लेरी सडक खण्ड निक्कै छोटो दुरी पर्दछ । सो मोटरबाटो पुरा गर्न पनि सोलुखोलामा बन्नु पर्ने सोही पुल आबश्यक छ । ट्रयाक खन्न बाँकी १० किलो मिटर बाटो र सोलुखोलाको पुल निर्माण भईदिए जिरी हुदै काठामाडौ सम्म जाने छोटो दुरी निर्माण हुनेछ ।
फोटो क्याप्सनः जग खन्ने काम शुरु गरेर अलपत्र छाडिएको पुल निर्माणस्थल । तस्बिरः बिक्रम श्रेष्ठ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!