नेपाली कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगायो


हिमाल एफ.एम, १ कार्तिक काठमाण्डौं ।

आगामी निर्वाचनको लागी नेपाली कांग्रेसले शीर्षनेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको छ । संसदीय समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो । कांग्रेस स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्दै छन् । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ बाट लडेर विजयी बन्दै आएका छन् ।

यसैगरी महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको छ । यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह चुनाव लड्नेछन् । सिंह यसअघिका निर्वाचनमा पनि काठमाडौं १ बाटै निर्वाचित भएका थिए । काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेस स्रोतले बतायो । गगन थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।

काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् । केसीले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु