नेपालमा उडान थाल्दै ६ एयरलाइन्स

हिमाल एफ.एम पौष १६ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बिमान अभावमा बजार गुमाइरहेका बेला थप ६ वटा बिदेशी बिमान कम्पनीले नेपाल उडान गर्ने तयारी गरिरहेका छन् ।

सन् २०१५ को सुरुवातमै यी बिमान कम्पनीहरुले त्रिभुवन बिमानस्थलबाट नियमित उडान थाल्नेछन् ।

उडान थाल्न लागेका एयरलाइन्सहरुमा बंगलादेशको रिजेन्ट एयरलाइन्स, मलेसियाबाट मालिन्दो एयरलाइन्स, चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स, श्रीलंकाबाट मिहिलंका एयरलाइन्स, भारतबाट गो एयर र तिब्बतबाट हिमालयन एयरलाइन्सले उडान गर्ने भएका हुन् ।

हिमालयन एयरलाइन्स नेपाली व्यवसायी र तिब्बत एयरलाइन्सको सहकार्यमा सञ्चालनमा आउन लागेको हो । हाल नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान सञ्चालन अनुमति (एओसी)को प्रकृयामा रहेको हिमालयन एयरलाइन्स फेब्रुअरीबाट उडान सुरु गर्ने तयारीमा छ ।

नयाँ एयरलाइन्सको प्रवेशसँगै नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनी ३३ पुग्ने छन् । अहिले नेपाल एयरलाइन्स र बुद्ध एयरसहित २७ वटा एयरलाइन्सले नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु