नेचामा टेलिकमको चरम लापरबाही, तिहारपछि अनुगमन गर्ने प्रमुख कठायतको प्रतिबद्धता

शिखर गजरकोटे,
सोलुखुम्बु, कात्तिक २०

नेपाल टेलिकमले सोलुखुम्बुको नेचाक्षेत्रमा प्रदान गर्दै आएको दुरसञ्चार सेवामा चरम लापरबाही भएको स्थानीयले गुनासो गरेका छन् ।

करिब २ बर्ष अघि टेलिकमले दुरसञ्चार सेवा विस्तार गर्दा खुसि भएका नेचालीलाई सेवा प्रभावकारी नहुदा ल्याण्डलाईन सेवा झन्जटको विषय बनेको छ । टेलिकमको सेवामा आउने समस्याले फोनको भरपर्दो उपयोग गर्न नपाएको स्थानीय निर कुमार शर्माले गुनासो गर्नुभयो ।

शुरुमा करिब १०४ लाईन जोडिएको भएपनि अहिले मुस्किलले १०–१५ वटा लाईन मात्रै सक्रिय रहेका छन् । अधिकांश लाईन न्युनतम महशुल नतिरेर काटिएका छन् भने कतिपय तार चुँडिनुका साथै अन्य कारणले बन्द भएका हुन् । कालिका आविका प्रध्यानाध्यापक होम प्रसाद कट्टेलले विद्यालयमा तार टाँगेपनि फोन जडान नगरी तार चुँडेको अवस्थामा वेवारिसे भेट्न सकिने बताउनुभयो ।

फोटो सोजन्य -हाम्रो नेचा राम्रो नेचा

टेलिकमको सेवा अहिले घाम लागेको बेला मुस्किलले दैनिक ७–८ घण्टा सेवा संचालनमा रहन्छ । जडानपछि मर्मत संभारका लागि टेलिकमको उपस्थिती नरहेको प्राविधिक पाटोको जिम्मेवारी लिएका रमेश बास्तोलाको भनाई छ ।

यी समस्यालाई टेलिकमले नजरअन्दाज समेत गरेको छैन् । सवारी पुग्ने नेचामा टेलिकम सल्लेरीका प्रमुख श्याम कठायत एकपटक पनि पुग्नुभएको छैन् । कठायतले विजुलीको अभावमा सेवामा समस्या देखिएको हुनसक्ने बताएपनि सेवाको गुणस्तर कायममा टेलिकम लाचार देखिएको स्थानीयले आरोप लगाएका छन् । उद्यपी, प्रमुख कठायतले तिहार लगत्तै अनुगमन गर्ने र सुधारको प्रयास गर्ने बताउनुभयो ।

दुरसञ्चारको विषयलाई लिएर नेचासल्यान गाउँपालिकाले पटक पटक चासो देखाएको भएपनि टेलिकमले समस्यालाई महत्वका साथ नलिएको अध्यक्ष डुफ कुमार बास्तोलले बताउनुभयो । उहाँले ध्यानाकर्षण गराउदा गराउदा आफू हैरान भएको बताउनुभयो ।

विल तिर्न सल्लेरि जानुपर्ने बाध्यता हटाउनु पर्ने, तत्काल नेचामै कार्यालय खोलेर सो सुविधा नेचामै प्रदान गर्नुपर्ने, लाईनको लथालिङ्ग अबस्थामा चुडिएका तारहरुको मर्मत सम्भार गरि बन्द भएका लाईन संचालनमा ल्याउनुपर्ने लगायतका मागहरु स्थानीयले राखेका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु