नेकपा एमाले र माओवादी निर्वाचनमा समान धारणा बनाएर जाने

हिमाल एफएम,२४ असोज ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन्् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलबार बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो । शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँग समेत छलफल गरेका थिए । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रित थियो । छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिनुभयो ।

यसैवीच नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनको संयोजकको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी ओलीलाई दिएको हो । स्थायी कमिटी बैठकमा वाम गठबन्धनबीच सिटको बाँडफाँट चाँडै टुंगोमा पु¥याउने, चुनावी घोषणापत्रलगायतका विषयमा पनि छलफल भएको थियो । अध्यक्ष ओलीले पार्टीका स्वदेश, प्रवासमा रहेका सदस्य र भ्रातृसंगठनलाई निर्वाचनमा परिचालन गर्ने विषयमा धारणा राखेका थिए । बैठकपछि उपाध्यक्ष भीम रावलले यही असोज २९ गतेभित्र सबै सिटको बाँडफाँट गरी उम्मेदवारको टुंगो लगाइसक्ने जानकारी दिए । बैठकले निर्वाचन घोषणा भएका अवस्थामा सरकार पुनर्गठन गर्न नपाइने भन्दै त्यो बाटोमा नलाग्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न बैठकले सरकारको ध्यानाकर्षण पनि गरेको छ । त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको भर्त््सना गर्दै एमालेले हत्यारालाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु