निर्मम तिङला घटना : जे देखियो, त्यही लेखियो

शब्द/तस्विर – भानुभक्त निरौला/शिखर गजरकोटे

माघ २–३
राष्ट्रिय प्रसारण लाईनको विद्युत पत्ताले क्षेत्रमा उद्घाटन गर्ने खबर पाए लगत्तै तिङलाका सर्वसाधारण गोलबन्द भएका थिए । माघ २ गते साँझपख विद्युत उद्घाटनको खबर बाहिर आएपछि भोलिपल्ट (शुक्रबार)उनीहरु भेला भए । एउटै आवाज बनाए, अनि भने, ‘तिङलामा विजुली नबलेसम्म उद्घाटन गर्न दिदैनौ ।’ उनीहरुको बुझाई जिल्लामा विद्युत आउनु ठूलो कुरा होईन्, घरमा विजुली बल्नु ठूलो कुरा हो । ग्रामिण विद्युतीकरण शुरु गरेर तिङलालाई उज्यालो बनाईसकेपछि उद्घाटन गर्नुपर्ने, होईन भने आन्दोलन गर्ने निर्णयमा पुगे । शनिबार पत्तालेमा हुने उद्घाटन कार्यक्रम विथोल्नकै लागि उनीहरुले तिङला बन्दको घोषणा गरे ।


माघ ४
धेरैलाई त्रास थियो की सडक पुरै बन्द गरिन्छ तर त्यसो गरिएन । उनीहरुले हाईड्रो र सम्बन्धित व्यक्ति चढेका सवारी सोधिसोधि रोकेका थिए भने सर्वसाधारण र सामाग्री बोकेका सवारी गुड्न दिएका दिएका थिए । तर उनीहरुको शंका एम्बुलेन्समा समेत थियो । विरामीको नाटक गरेर व्यक्तिले (विद्युत उद्घाटन सम्बन्धि) सडक छिचोल्छन् की भन्ने सायदै थियो । एम्बुलेन्सपनि चेक गरेर छाडेको दृष्य देखिन्थ्यो ।


शनिबार विहानै देख विद्युत प्राधिकरणको सव–स्टेशन निर्माण भईरहेको स्थान तिङलाको लाम्मानेमा सयौँको संख्यामा तिङलाली भेला भएका थिए । उनीहरु कुनैपनि हालतमा विद्युत उद्घाटन कार्यक्रम रद्ध गर्न चाहन्थे । पुर्वनिर्धारित कार्यक्रम भएकाले स्थानीय प्रशासन र जनप्रतिनिधिहरु तिङलालीसंग सहमति गरेर विद्युत उद्घाटन गर्ने पक्षमा देखिएको थियो । वातावरण सहज बनाउने द्येयले प्रशासनले एक टोली (बढिमा १० जना) वार्ताका लागि सल्लेरी डाक्यो । आन्दोलनकारीले भने, ‘की हामी सबै आउछौ, सिमित व्यक्ति वार्ताको लागि सल्लेरी आउदैन् । आउनुस्, स्थलगत वार्ता गरौ । वातावरण हामी निर्माण गछौ ।’ तर प्रशासन स्थलगत वार्ता संभव नहुने बताउदै थियो ।

ग्रामिण विद्युतीकरणको माग गर्दै आन्दोलित तिङलाली


टेलिफोन आग्रहबाट वार्ता संभव नभएपछि सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमोरिया आँफै लाम्माने पुगे । जनताकै माझ पुगेर वार्ताको लागि उनले गरेको पटक पटकको आग्रह तिङलालीले अस्विकार गरे । उनीहरुले भने ‘माननीय यहि आओस् ।’ उनीहरुले केहिबेर नाराबाजी गरे ।


नारा – हामीलाई छल्न पाईदैन् (पाईदैन्)
माननीय लुक्न पाईदैन (पाईदैन्)
लुकेर माननीय हुदैन् (हुदैन)
विद्युत उद्घाटन बन्द गर (गर)
तिङलाबासी एक हौ (एक हौ)
तिङलामा बत्ति बल्नै पर्छ (बल्नै पर्छ)
तिङलामा बत्ति नबाली उद्घाटन गर्न पाईदैन् (पाईदैन्)
जनताको भावनाको कदर गर (कदर गर)
जनभावना विरोधी होसयार (होसियार)
हाम्रो माग पुरा गर (पुरा गर)
हाम्रो माग जारी छ (जारी छ)
माननीय छिटो चाहियो (चाहियो)


आन्दोलनकारीहरुले स्थानीय टंक बहादुर कार्कीको विरुद्धमा पनि नाराबाजी गरिरहेका थिए । (कार्की सव–स्टेशनमा तिङलालीले लगाएको ताला फोर्ने एक आरोपी हुन्) शनिबार विहानको भेलाले जनभावना विरोधी काम गरेको भन्दै कार्कीलाई सामाजिक वहिस्कार गर्ने निर्णय समेत गरेको थियो भने भेलाले कुनै पनि हालतमा विद्युत उद्घाटन कार्यक्रम हुन नदिने निर्णय पनि पारित गरेको थियो ।


डिएसपीको रिर्पोटिङ, ‘माननीयज्यू फिल्डमै आईदिनुप¥यो’
वार्ताको माहौल मिलाउन लाम्माने पुगेका डिएसपी आन्दोलनकारीको कुरा सुनेर असिनपसिन बने । सुरक्षा निकाय प्रमुखलाई राजनैतिक एजेण्डा सम्बोधन गर्नु संभव प्रायः थिएन । जहाँ राजनैतिक नेतृत्वको आवश्यकता अििनवार्य थियो । उनले चर्का नाराबाजीमा उत्रिएका भिडलाई आश्वस्त पार्दै भने, ‘माननीज्यूलाई म यहि झिकाउछु, वहाँ आएर नै सम्बोधन गर्नुहुन्छ ।’ सोही स्थलबाट स्तभकारसंगको टेलिफोन संबादमा माननीय हेम कुमार राईले भने, ‘हामी गार्मा कटिसक्यौ । तिङलाली जनतालाई सम्बोधन गरेर नै उद्घाटनका लागि पत्ताले जान्छौ । आज जिल्लाकै लागि ऐतिहासिक दिन हुनेछ ।’


तिङलाली संघीय सांसदलाई स्थलगत रुपमा (लाम्माने) देख्न चाहन्थे । आफ्नो माग कुनै न कुनै हिसावले सम्बोधन गर्ने र निकासको बाटोमा अघि बढ्ने आशा आन्दोलनकै भिडबाट मिलिरहेको थियो । आन्दोलन हो, कमाण्ड केहीले गरेपनि मैदानमा उत्रिसकेपछि हरेकको क्रियाकलाप नियन्त्रण संभव पनि थिएन । सडकमा उत्रिएकामध्ये केही मदिरा सेवन गरेका पनि थिए । आन्दोलनको भिडमा बाल उमेर समूहका र जेष्ठनागरिकको पनि बाक्लो उपस्थिती थियो । उनीहरुको मुहार उज्यालोको आशामा अध्याँरो थियो ।

आन्दोलनकारीले जलाएका सवारीसाधन


आन्दोलनकारीले सायद विहान देखि केही खाएका थिएनन् । दिउँसोको सवा १ बजेतिर आफ्नै व्यवस्थापनमा चाउचाउ खादैँ थिए । फुको चाउचाउ खाएर उनीहरु ओहोरदोहोर यताउता गरिरहेकै थिए । त्यसबीचमा सल्लेरीबाट जादै गरेको एउटा ट्रकले रोक भन्दा नमानेपछि आन्दोलनकारीले तोडफोडको संकेत देखाईसकेका थिए । सोही विवाद मिलाउनैका लागि झण्डै १५ मिनेट लागेको थियो । त्यसबीचमा उनीहरुले संघीय सांसद हेम कुमार राईको टोली नजिकै आईसकेको सूचना पाईसकेका थिए । उनीहरुको कुरा सुन्दा लाग्थ्यो, माननीयले कुनै सम्बोधन गर्लान् । चित्त नबुझे सव–स्टेशनकै कुनै रुममा प्रशासनको रोहवरमा वार्ता गरौला । तर उनीहरुले माननीय देख्नै पाएनन् ।
माननीयको गाडी अघि लाग्नुपर्ने परिस्थिती बनेको लाम्मानेमा उद्घाटन कार्यक्रममा सहभागी बन्न जानेहरुका दर्जन बाईक अघि लाग्नु नै लाम्माने घटनाको अभिषाप बन्न पुगेको आँकलन गरियो । एम्बुलेन्सलाई समेत चेकजाँच गरेर मात्रै सडक पार गर्न दिएका उनीहरुका लागि हर्न बजाउदै आएका दर्जनौ बाईकलाई सहजै जान दिनु प्रतिष्ठाको विषय बन्न पुग्यो । माननीयको अघि लागेका मोटरसाईकललाई सडकमै भेला भएका तिङलालीहरुले क्रस गर्न नदिदा ठेलामठेलको स्थिती बन्यो । सडकमा बसिरहेका उनीहरुलाई बाईकको टायरले उठायो । ठेलामठेल पछिको परिस्थितीमा आन्दोलनकारी मध्येबाट ढुंगा र लौरी प्रहार शुरु भएसंगै बर्सने क्रम रोकिएन् । परिणामस्वरुप मोटरसाईकल चालक र सवार व्यक्ति भाग्नुप¥यो । प्रहरी पनि भागेपछि आन्दोलनकारी झन् हौसिएर सडकमा छाडिएका मोटरसाईकलमा ठूलाठूला ढुंगा बर्साए, केहीले सडकमै पुगेर मोटर ढलाए । करिब ३ मिनेटको अवधिमा एक दर्जन बढि मोटरसाईकल ड्यामेज बनाईसकिएको थियो ।

आन्दोलनकारी उच्च भागमा र प्रहरी सडकमा हुनुले पनि स्थिती नियन्त्रणमा लिन प्रहरीलाई मुस्किल प¥यो । त्यसअवधिमा प्रहरीले अश्रुग्याँस प्रहार मात्र गरेन्, रबरको गोली पनि हान्यो । परिस्थिती नियन्त्रण बाहिर गईसकेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । ढुंगामुढाकै बीचमा आन्दोलनकारीले सडकमा रहेका मोटरसाईकलमा आगो लगाए । एकपछि अर्को मोटरसाईकल जल्दै थियो । त्यहीबीचमा सव–स्टेशनको गेटमा पार्किङ गरि राखिएको स्थानीय टंक बहादुर कार्कीको बालेरो (डबल क्याप)मा पनि आगो सल्काईयो । करोडौको सम्पत्ती केही मिनेटमै खरानीमा परिणत भयो ।
झडपमा ढुंगाले लागेर एक प्रहरी जवान सहित ४ जना घाईते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।


प्रहरी बन्यो मुकदर्शक
सो घटनामा प्रहरीको गतिशिलता निकै कमजोर भेटियो । जब, दुई पक्षको भेट भयो, त्यहाँ झडप हुनुपुर्व डिएसपी चमोरिया पुगिसकेका थिए । उनी एक्लैले भिड नियन्त्रणमा लने कोशिस गरे तर संभव नभएपछि प्रहरी जवानलाई डाक्दैथिए तर प्रहरी एक छेउमा रमिता हेरिरहेको थियो । हुनु त उनीहरुलाई पनि ज्यानको माया थियो होला तर पदीय भूमिका चित्तबुझदो नभएको स्वयम् तिङलालीहरुले गुनासो गरे । आन्दोलनमा सहभागी एक स्थानयले भने, ‘हामीले यो दुर्घटना चाहेका थिएनौ । स्थानय प्रशासनले कमाण्ड गर्न सकेन ।’


भिड उत्तेजित छ भन्ने स्थलगत रुपमा खटिएका प्रहरी प्रमुख र प्रहरीलाई थाहा थियो । संभावित दुर्घटनाको चाल पाउदापाउदै पनि प्रहरीले विद्युत उद्घाटनका लागि गएकाहरुलाई केहि परै रोक्न किन सकेन ? संघीय सांसद सहितको टोलीमा प्रयोग भएका सवारी लाम्माने परै (रमिते भाग) रोक्नका लागि केही प्रहरीले सूचना सम्प्रेषण गरेका पनि थिए तर त्यसो हुन सकेन् । माननीयको टोलीलाई निर्वाध रुपमा अगाडी बढ्न दिनका लागि वातावरण मिलाउन पनि प्रहरी नराम्रोसँग चुक्यो, जस्ले लाखौको क्षति निम्त्यायो । ठूलो स्वरमा आन्दोलनकारीले बाईक जला–जला भनेर व्हिप लाउदा समेत प्रहरीले टुलु टुलु हेरेर निरीहता प्रदर्शन गर्यो । स्थलगत रुपमा देख्नेहरु गाडी जल्नबाट रोक्न प्रहरीले सक्थ्यो भनिरहेका छन् । उनीहरु भन्छन्, ‘प्रहरीले अलिकति सक्रियता देखाएको भए आगो लाग्ने थिएन् ।’


तर प्रहरी आफ्नो ज्यान जोगाउनै तल्लिन थियो । आन्दोलनकारी डिलमा बसेर ढुंगा, रड, लौरी, माटो बर्साईरहेका थिए । संभावित दुर्घटनाको सुईको पाईसक्दा पनि प्रहरी डिलमा उक्लनै भ्याएन । भिडमै अल्मलिएको कतिपयको बुझाई छ ।


चर्कदो तिंलाली आक्रोस
जब गाडी खरानीमा परीणत भए अनि माननीयको टोली फर्कियो तब झन पोखियो तिंलाली आक्रोस । आन्दोलनका अगुवा मध्येका एक बालकुमार कार्की भन्दै थिए, ‘हामीलाई माननीयले गुण्डा लगाएर तर्साउन खोजे, तिंलाली तागतलाई कुल्चने काम भयो’ उनी यति मात्रैमा रोकिएनन्, ‘हामी ज्यान फाल्न तयार छौँ, माग पुरा नभएसम्म भिडिरहन्छौँ’ । त्यही भिडमा हातमा रड बोकेर अर्का अगुवा केदारभक्त कार्की जोसिँदै थिए, ‘हामीलाई पेलेर जान खोज्ने ?, हामीलाई सधैँ हेप्ने ?, अब हामी देखाईदिन्छौ । माग पूरा नभएसम्म चलमल हुन्नौँ।’ । हुलहुज्जतमै अर्का अगुवा राम थुलुङको आक्रोस पनि कम थिएन । पेलेर जाने काम गलत भएको उनको तर्क थियो ।


माननीयको पत्रकार सम्मेलन
संघिय सांसद हेमकुमार राई सुरविरले विकास विरोधी तत्वले तिङलाका जनतालाई मुठभेडमा उतारेको बताएका छन् । तिङलाको लाम्मानेमा भएको झडपपछि सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै सांसद राईले आफु तिङलाका जनताको माग संबोधन गर्नको लागि लाम्माने पुग्दा एक्कासी प्रतिकारमा उत्रिएर कार्यकर्ताको १४ वटा मोटर साईकल जलाईनु दुखद भएको बताए ।
आफु सदैव तिङलाली जनताको पक्षमा रहेको भन्दै सांसद राईले प्राधिकरणको निम्तोमा विद्युत उद्घाटन गर्न पत्ताले गएको र बाटोमा असन्तुष्टहरुलाई सम्बोधन गर्ने तयारी गर्दा मुठभेडमा जनतालाई उतारिएको आरोप लगाए ।


घटनालाई साम्य पार्न स्थानीय प्रशासनले कुनै भुमिका निर्वाह नगरेको भन्दै घटनाको जिम्मा प्रशासनले नै लिनुपर्ने उनको भनाई छ । पत्रकार सम्मेलनमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, उत्तम कुमार बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जिल्लाको सबै ठाउँमा विद्युतको पहुँच पु¥याउन प्रतिबद्ध रहेको बताएका छन् ।


ओईलिए पत्तालेका माला
तिंलामा विहानै देखि हुलदंगा भए पनि पत्तालेको रौनक भने बेग्लै थियो । उनीहरु आफ्नो गाउँमा बत्तिको उद्घाटन हुने खबरले हर्षित मात्रै थिएनन्, अतिथिको स्वागतका लागि फलमाला नै उनेर बसेका थिए । विहानै स्थानीय राजकुमार मगर भन्दै थिए, ‘उद्घाटनको कार्यक्रमको लागि स्थानीय तयारी सबै गरिसक्यौँ, स्वागतका लागि हामी तयार छौँ ।’ तर उनीहरुको माला प्रयोगमा आएन । निराश भएर तिंलाको घटनाको समाचार सुन्नुको विकल्प रहेन ।


वितरण केन्द्रका प्रमुख ‘फरार’, जसले निम्त्यायो दुखद घटना
विद्युत उद्घाटनको तयरी गरिरहेका थिए विद्युत वितरण केन्द्र सल्लेरीका प्रम्ुख पुरुषोत्तम रेग्मि । जसका लागि उनले पत्तालेमा रहेको ट्रान्सफरमर पोलमा परीक्षण समेत गरे र एउटा बल्व बालिराखेर सल्लेरी फर्किए । काठमाण्डौमा रहेका माननीयलाई निम्तो गरे, मेयरलाई पनि खबर गरे, तर मेयरले कार्यक्रममा नजाने प्रतिक्रिया दिए । केही दिन अगाडी उनलाई पुर्व मन्त्रि बलबहादुर केसीले फोन गरेर लघु जलविद्युतको समस्या सम्बोधन नगरि उद्घाटन नगर्न चेतावनी समेत दिएका थिए । त्यस माथि तिंलालीको माग सम्बोधनको चटारो उनीमा थपियो । उनी यस्तो ठाउँमा थिए कि सबै पक्षसँग समन्व गरेर कार्यक्रम सफल पार्नु र सोलुखुम्बुमा राष्ट्रिय प्रसारण लाईनको सुरुवात गर्नु उनको जिम्मेवारी थियो । तिंलालीको माग सम्बोधन, प्रतिपक्षि भावना बुझ्नु र संस्थापनको विकासे गतिमा साथ दिनु उनको प्रमुख दायीत्व थियो । तर उनी यी सबै गर्नुको साट्टो ३ गते शुक्रबार नै मोबाईल अफ गरेर जिल्ला छाडे । कार्यालय प्रमुख नै फरार भए पछि उद्घाट कार्यक्रम न त प्राधिकरणे स्थगित गर्यो न त सफल नै पार्न सक्यो । त्यही कारण अन्ततः तिंला रणभुमिमा परीणत भयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!