नियमावली टुंगोमा नपुग्दै समानान्तर सम्पर्क समिति बनाउने प्रयत्न

सोलुखुम्बु, साउन ३

कांग्रेस सभापति शेर बहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा सोलुखुम्बु–काठमाण्डौ समितिले राष्ट्रिय जागरण अभियान अन्तरगत कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको २ महिना नवित्दै अर्को पक्षले समानान्तर सम्पर्क समिति गठन गर्ने प्रयत्न शुरु गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसी र केशव कुमार बुढाथोकीको उपस्थितीमा भएको भेलाले गठन गरेको मनोज खड्का सभापति रहेको समितिले काम गरिरहेको अवस्थामा कांग्रेस नेता बल बहादुर केसीपक्षधरले आगामी भदौ ७ गते सम्पर्क समिति गठनका लागि भन्दै भेला बोलाएको हो ।

पार्टीको विधान र नियमावली अनुसार सम्पर्क समिति गठनका लागि भेला बोलाईएपनि वर्तमान समितिले अवैधानिक तवरले समानान्तर समिति गठन गर्न लागेको भन्दै आपत्ति जनाएको छ । सभापति मनोज खड्का, उपसभापति केशव राई र महासचिब रोशनबाबु थुलुङ संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पार्टी हित विपरित गरिने यस्ता गतिविधिलाई दुरुत्साहन गर्न अपिल गरेको छ ।

सम्पर्क समिति गठनका लागि बनाईएको नियमावलीले पुर्णता पाउन बाँकी रहेकै समयमा समानान्तर समिति गठनका लागि भेला बोलाईएको हो । केन्द्रिय समितिमा पुगेको नियमावली परिमार्जनका विषय बढि देखिएपछि आवश्यक संशोधनका लागि नियमावली निर्माण समितिमा फिर्ता आएको छ । कांग्रेस सभापति समेत उपस्थितीमा असार १४ गते प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र एउटा समिति क्रियाशिल रहदारहदै अर्को समिति गठन आवश्यक नरहेको कांग्रेस सम्बद्ध नेताहरुले बताएका छन् ।

नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावलीले पुर्णता नपाएको अवस्थामा सम्पर्क समिति गठनका लागि भेला बोलाउनु हतार हुने प्रतिक्रिया दिए । उनले भने, ‘केन्द्रिय समितिमा उठेका विषय परिमार्जनका लागि नियमावली मस्यौदा समितिमा पठाईएको छ । संशोधनको काम पनि सकिएको छ, अब पदाधिकारीको वैठक बसेर टुंगो लगाउन बाँकी छ ।’ सम्पर्क समिति गठनका लागि हतार आवश्यक छ त ? भन्ने प्रश्नमा समिति संयोजक लेखकले भने, ‘हतार नगर्दा राम्रो ।’

नेपाली कांग्रेस पार्टी कार्यलयका मुख्य सचिब कृष्ण पौडेलले पनि नियमावली मस्यौदा समितिमै रहेकाले कार्यान्वयनका लागि हतार नगर्न आग्रह गरे । उनले भने, ‘वैधानिक रुपमा टुंगो लाग्न बाँकी रहेको नियमावलीको आधारमा समिति गठन गर्न हतार नगरौ । धैर्यता अपनाऔ ।’ समितिको वैठकले पास गरेपछि मात्र नियमावली कार्यान्वयनका लागि तयार हुने मुख्यसचिब पौडेलको भनाई छ ।

सम्पर्क समिति गठनका लागि जिल्ला कार्य समितिका प्रतिनिधि भनिएका कांग्रेस सोलुखुम्बुका महाधिबेशन प्रतिनिधि अशोक झाले नियमावली अनुसार सबैलाई मिलाएर लैजाने कोशिस गरिरहेको बताए । उनले भने, ‘यसअघि नै नियमावली पास गर्ने तयारी भएकाले भदौ ७ का लागि भेला बोलाएका हौ । अहिले केन्द्रिय स्तरका नेताहरुसंग छलफल भईरहेको छ ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु