निमा र फुरदिकीले चढे सगरमाथा, एकल महिलालाई सहयोग गर्न आग्रह

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २७
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका दुई जना एकल महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् । हिमालमा श्रीमान गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाल जेठ ९ गते बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको एक विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन ‘हामी पनि गर्न सक्छा’ैं भन्ने नाराका साथ उनीहरु सगरमाथा आरोहणमा गएका हुन् । फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् ।

हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै गएका थिए । आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।

उनिहरुले सोमबार आज जारी गरेको विज्ञप्तीमा एकल महिलालाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु