निउरो बेचेर पढाइ खर्च जुटाउदै सोलुका बालबालिका

राधा ढुंगाना
सोलुखुम्बु, १५बैशाख

सोलुखुम्बु काँकु स्थीत कोफुका १२ बर्षिय पेमनुरु शेर्पा जहिले पनि शनिबारको पर्खाइमा हुन्छन् । उनी गाउँकै कक्षा ५ मा पढ्दै छन् । त्यसो त उनलाइ शनिबारको पर्खाइ चाहीँ बिदा बनाउन हतार भएर होला भन्ने तपाइलाइ लाग्ला । तर पेमनुरुले शनिबार कुर्नुको कारण भने अर्कै छ ।

पेम नुरु हरेक शनिबार राती एक बजे नै उठ्छन्, बेलुकी नै डोकोमा ठिक्क पारि राखेको निउरोका भारी बोकेर सदरमुकाम सल्लेरीको हाट बजार आउँछन् । निरन्तर ५ घण्टा भारी बोकेर ६ बजे बजार आइपुग्छन् । र धमाधम निङग्रो बेच्न थाल्छन् । गाउँका अरु ठुला मान्छेहरु पनि संगै आएका हुन्छन् । तर सबैभन्दा पहिले पेमनुरु कै निउरो पहिले सकिन्छ ।

सानो मान्छेले बेच्न राखेकाले मान्छेले उनकैमा बढि किन्ने गर्दछन् । उनले करिब ३ घण्टामा डोको भरि ल्याएको ५० मुठा निउरो बेची सिध्याउछन् । र आफुलाइ चाहिने किताब कापी, कलम किनिसके पछि बिद्यालयमा चाहिने खाजा खर्च छुट्याउँछन् र पैसा बाँकी रहयो भने घरमा चाहिने नुन, तेल, मसलाहरु पनि किनेर लैजान्छन् । उनको हरेक शनिबार यसरी नै बित्ने गरेको छ अहिले । उनी बर्षैभरि ज)गलमा फल्ने, उम्रने निउरो, च्याउ देखि सिस्नु सम्म ल्याएर बजारमा बेच्ने गर्छन् । पेम नुरुले भने, ‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफै कमाउनु पर्छ, यत्ति दुख नगरे त स्कुल जान पाइदैन ।’
पेमनुरु जस्तै सल्लेरी पारी जैदु की ११ बर्षिय बालिका निङमा ल्हमु तामाङ पनि कक्षा ५ मा पढ्छीन् । तर शनिबार झिसमिसेमै घरबाट समरकाुम सल्लेरीमा हाट बजारमा साग ल्याएर बेच्ने गरेकी छिन् । हिजो शनिबारको हाटमा पनि निङमाले आफुले बोक्न सक्ने ९ मुठा साग ल्याएर डेढ घण्टामै बेचिन् । निङमाले भनिन्, ‘अब यो पैसाले ओपिटि किताब किन्छु, कापी किन्छु अनि भोली स्कुल जान्छु ।’

पेमनुरु र निङमा जस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने शनिबारे हाट बजारमा आजकाल ५÷६ कक्षामा पढ्दै गरेका बालबालिकाहरु ब्यापारिको रुमपा निक्कै आउने गरेछन् । जुन बालबालिकाहरुले आफ्नो पढाइ खर्च आफै जुटाउँछन् । झिसमिसे बिहानीमै भारी बोकर बजार भर्न आइपुग्ने ती बालबालिकाहरुको रहर नभएर बाध्यता हो ।

घरमा बुबा आमाको आयश्रोत राम्रो नभए पछि पढाइ खर्च जुटाउन अहिले ती बालबालिकाहरु साप्ताहिक हाट बजार शनिबार कुरिरहेका हुन्छन् । अझ अहिले नयाँ शैक्षिक सत्र पनि सुरु नभइसकेकाले यस्ता बालबालिकाहरु हाट बजारमा बढि देखिने गरेका छन् । काँकु स्थीत कोफुकी दिलमायाँ राइले भने आफुसंगै आफ्नी १० बर्षिय छोरीलाइ पनि राती १ बजे नै घरबाट हिडाएर निङग्रो बेच्न बजार ल्याएकी थिइन् । आफ्नो छोरीलाइ बजार ल्याउनुमा भने उनले अर्कै कारण बताइन् । उने भनिन्, ‘बच्चालाइ यसरी बजारमा ल्याए पछि पैसा कमाउन कत्ति दुःख हुदोरहेछ भनेर थाहा पाउँछन्, अनि कापी कलमको जतन गर्छन्, पैसोको महत्व थाहा पाउछन् । त्यसपछि पैसा पनि कम खर्च गर्छन् ।’

सपन्न परिवारका बालबालिका न्यानो गरि सुतिरहँदा यी बालबालिकाहरु भने पढाइ खर्चकै जोहो गर्न मेहेनत गरिरहेका छन् । बाल अधिकार त यीनीहरुले पनि किताबको पानामा अध्ययन गरेका होलान् तर पढ्नु भन्दा पहिले पढाइ खर्च जुटाउन नियतीले ब्यापारि पनि बनाइदिएको छ । दिलमायाँ राइले भन्,ि ‘सरकारले निशुल्क भनाइ अभियान भनेर के गर्नु, स्कुलले खै के के शुल्क भनेर महिनावारी पैसा लिइहाल्छ ।’ उनले प्रश्न गरिन्, ‘निशुल्क भर्ना गर्छु भन्नेले कापी कलम पनि सित्तैमा दिनु पर्दैन ? अनि पो सबै बच्चाहरु स्कुल जान पाउछन् ।’

अहिले सोलुखुम्बुका ४ प्रतिशत बालबालिकाहरु बिद्यालय जानबाट बञ्चीत रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । बैशाख १ गतेबाट भर्ना अभियान सुरु गरे पनि पढाइ खर्च जुटाउन नसक्दा अधिकांश बालबालिकाहरु सानैमा स्कुल छाडेर खुम्बुमा पर्यटकको भारी बोक्न जाने गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी डिकबहादुर राइले भने, ‘यस पटक सबै बालबालिकाहरुलाइ बिद्यालय सम्म पुर्याउने हाम्रो अधियान छ ।’ देशलाइ नै पुर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहदा कापी कलमको खर्च पनि सरकारले निशुल्क गरिदिनु पर्ने अबिभावकहरुको माग छ ।

सोलुखुम्बु बुहमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सभापति बिक्रान्त कुलुङले दुर्गम क्षेत्रमा सरकारले पुर्ण रुपमा निशुल्क शिक्षा आर्जनको बाताबरण बनाउनु पर्ने बताए । उनले भने, ‘बिद्यार्थी भर्ना गरेर मात्रै हुदैन, उनीहरुको कपी कलमको पनि निशुल्क ब्यबस्था गर्नु पर्छ । बिद्यार्थीलाइ बिद्यालय पुर्याउनु मात्रै सफल्ता होइन, बालबालिकालाइ आबश्यक शैक्षिक सामगृ पुर्याउनु पनि दायित्व हो ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु