धान्य पूर्णिमा पर्व आज, नेवार समुदायमा योमरी पुन्ही मनाईंदै

काठमाडौं, पौष २ । हरेक वर्ष मार्गशुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा पर्व आज मुलुकभर मनाईंदैछ । नेवार समुदायमा यसलाई योमरी पुन्ही नामले चिनिन्छ । उक्त समुदायमा चामलको पीठोका योमरी पकाउने चलन छ । यो बच्चादेखि बुढाबुढीसम्ममा लोकप्रिय रहेको खाद्य परिकार पनि हो । किसानहरुले धान भित्रयाएर भकारी भरिसक्ने समय भएकाले सधैं धनधान्यले पूर्ण होस् र कहिल्यै अन्नको दुःख नहोस् भन्ने कामना गर्दै यो चाड मनाइने गरेको विश्वास छ । त्यसैले यसलाई धान्य पूर्णिमा भनिएको किंवदन्ती छ । गाउँघरमा गाईवस्तुको रक्षाका लागि गोठमा गैडु देवताको पूजा गर्ने चलन पनि छ ।

पहाडी भेकका बासिन्दाले भने चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडा, गाईलगायतको गोठ बेसीतिर झार्छन् र त्यहींका देवताको पूजा गरी मनाउँछन् । त्यसैले यस पर्वलाई उँधौली पनि भन्ने गरिन्छ । पछिल्लो समयमा यस पर्वलाई राष्ट्रिय ज्यापू दिवसका रुपमा मनाउने गरिएको छ । ज्यापू संस्कृति विकास कोषले राजधानीमा सांस्कृतिक जुलुसका साथै वसन्तपुरमा सभा आयोजना गर्छ । यस दिन सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।
यसैअवसरमा राष्ट्रपति डा. रामवरण यादवले शुभकामना सन्देश दिंदै सबै धर्मावलम्बी, जातजाति, भाषाभाषीकाबीचमा एकता कायम गरी आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धी भई देशमा शान्ति र सुव्यवस्था स्थापना गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!