धरहरा वरिपरि घुमिरहेको सरकार र रमिते काठमाडौंबासी

राजकुमार श्रेष्ठ

शनिबारको विनाशकारी भूकम्पले धरहरा गर्ल्याम्म ढल्यो । बसन्तपुर क्षेत्र भग्नावशेषमा परिणत भयो । काठमाडौंका कतिपय पक्की घरहरु पनि हल्लिए, चर्किए । भूकम्प गएको चौथो दिनसम्म पनि काठमाडौं सडक पेटदेखि खुला चौरहरुमा मानिसहरु पाल टाँगेर बसेका छन् । जे छ, पाइएको छ, खाएर बसेका छन् ।

ती पालहरुमा पुग्दा सरकारले राहत दिएन, केही पाइएन भन्ने गुनासो बाहेक केही पाइँदैन । हो पनि सडकको बास भएको यति दिनसम्म पनि सरकारले हेरेन भन्ने लाग्छ ।

तर, जब तपाई यो शहरबाट केही बाहिर निस्किनुहुन्छ दृश्य फरक र हृदयविदारक छ ।

रिपोर्टिङको सिलसिलामा म सोमबार साँझ साँखु पुगेँ, त्यहाँ भत्किएका घर कति छन् भनेर होइन, नभत्किएका घर कति छन् भनेर खोज्नुपर्ने अवस्था छ । न उद्दार तथा राहत नै पुगेको छ । बजार क्षेत्रमा सन्नाटा छ । मानिसहरु खुला ठाउँ खोज्दै खेतहरुमा पुगेका छन् र केही हजार मानिस खुला आकाशमा रात बिताइरहेका छन् ।
Earth-quakes-At-kathmandu-121

मंगलबार ललितपुरको हरिसिद्धी पुग्यौं । हामीलाई देख्नासाथ स्थानीयहरु केही राहत आएको पो हो कि भने जसरी आश गरिरहेका थिए भने केहीमा आक्रोश थियो । झण्डै ३०० घरको बस्ती उजाडिएको थियो । मानिसहरु खुला आकाश मुनि छन् ।

सिंहदरबारबाट केही किलोमिटर दुरीको अवस्था यस्तो छ भने गाउँको स्थिति के होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

तर, सरकार तथा विभिन्न संघ संस्था काठमाडौं खाल्डोबाट बाहिर निस्कन सकेको छैन । राहत क्याम्पदेखि घर जान गाडीको बन्दोबस्त गर्ने कदमसम्मले यही देखाउँछ । लाग्छ, सरकार धरहरा र वसन्तपुरको बरिपरी घुमेको छ, काठमाडौंका सडकमा बस्न आएकाहरुमै रुमल्लिएको छ ।

०००
मंगलबार साँझ गोंगबस्थित एक गेष्टहाउसमा जिवितै मानिस भेटिएको खबर आयो । दौडिएर पुगेँ । भूकम्पले गोंगबु क्षेत्रका पक्की घरहरु समेत भत्किएका छन्, जुन विभिन्न सञ्चार माध्यममा आएको तस्वीरहरुमा देखिएकै छ ।

नेपालका सुरक्षाकर्मीहरुका साथै विदेशबाट आएका उद्दार तथा राहत कर्मीहरु खटिएका छन् । उनीहरु जोखिम मोलेर भग्नावशेषहरुमा काम गरेका छन् । तर, हामी नेपालीहरु भने रमिते बनेका छौं । जुन ठाउँमा उद्दार तथा राहत भएको हुन्छ, त्यहाँ काम गर्नेभन्दा हेर्नेहरुको ठूलो भिड देखियो ।

हातहातमा मोबाइल बोकेर भिडियो र तस्वीर खिचिरहेका भेटिए । तर, एउटा ढुंगा सार्न पनि सहयोग गर्दैनन् । एक सुरक्षाकर्मीले भने-हामीले आम मानिसलाई कस्तो बनाएछौं । जो विपतमा गर्नेभन्दा रमितेहरु मात्र छन् ।’

उनले यसोभन्दा मलाई शनिबार धरहरा क्षेत्रमा देखिएको भिडको याद आयो । धरहरा भत्किएको थियो । मानिसहरु धेरै परेका थिए । सुरक्षाकर्मी उद्दारमा जुटेका थिए ।

तर, शहिद गेटबाट धरहरा क्षेत्रसम्म मानिसहरुको भिड थियो । उद्दारमा केही सीमित मात्र सर्वसाधारण जुटे । धेरै रमिते थिए । बरु सुरक्षाकर्मीले उद्दार गरेका मानिसहरुलाई अस्पतालसम्म पुर्‍याउनसमेत त्यो भिडलाई हटाउन गाह्रो भयो ।

मानिसहरु हात-हातमा मोबाइल बोकेर भिडियो र तस्वीर खिचिरहेका थिए । यसो गर्नुभन्दा त्यहाँजम्मा भएको भिडले एउटा-एउटा ईंटा हटाइदिएको भए पनि उद्धारमा सहायता पुग्ने थियो ।

सरकारले तीन दिन शोक घोषणा गरेको छ । काठमाडौंमा भएका युवाहरु झोला बोकेर गाउँ जान आतुर छन् । जसको घर वा मानवीय क्षती भएको छ, उनीहरुप्रति हामीले सहानुभूति देखाउनैपर्छ । तर, अन्य युवाहरुलाई प्रश्न छ- के अहिले घर जाने बेला हो कि युवाहरुको टीम बनाएर गाउँ गाउँमा उद्दार तथा राहतमा जाने बेला हो यो ? यही हो हाम्रो युवाशक्ति ? जो विपतमा परेकाहरुको राहत र उद्दारमा जुट्न छाडेर गाउँ जान हतारिएको छ ।

के हामी नेपालीहरुलाई आपत् परेका बेला कुनै विदेशीले आएर काम गरिरहेका बेला हामी रमिते मात्र बन्ने हो ?

साभार – अनलाईनखबर

Comments

comments

सम्बन्धित शीर्षकहरु