दुधकोशी २ (जलेश्वर)को पुरक EIA सम्बन्धि सार्वजनिक सुनुवाई

शिखर जंग श्रेष्ठ
सोलुखुम्बु, फागुन २०


थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारसंग समन्वय गरेर सामाजिक उत्तरदायित्व वापत्को रकम खर्च गरिने गरि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा व्यवस्था गर्न सुझाव दिए ।


सोमबार दुधकोशी हाईड्रोपावर प्रा.लि.को आयोजनामा बर्खुघाटमा भएको पुरक वातावरणीय प्रभाव मुल्यांकन विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका क्रममा खर्च गरिने सामाजिक उत्तरदायित्व वापत्को रकम स्थानीय सरकारको समन्वयमा गरिनु पर्ने बताए ।


‘भारतीय कम्पनीले जिम्मा लिएको काम समयमै सकिदैन् भन्ने आरोप छ । आरोपलाई काम गरेर खण्डन गर्नु हुन अनुरोध छ । यो हाईड्रोपावरलाई स्थानीय सरकारले चासो दिएको छ ।’ उनले भने । पुर्व माओबादीका हाईड्रो विभागीय प्रमुख समेत रहेका राईले दुधकोशीमा ७० मेगावाटको हाईड्रो सम्पन्न गर्न निकै चुनौतिको विषय भएको र संभाव्यता नभएर प्रभावित जनतालाई गुम्राहामा राखेर खेलवाट नगर्न समेत आग्रह गरे । ‘दुधकोशी २ बन्छ भने हाम्रो तर्फबाट पुरापुर सहयोग रहन्छ ।’ अध्यक्ष राईले भने । हाईड्रोपावर निर्माणका लागि लगानी भित्राउन इमान्दार प्रयास गर्न अनुरोध गरे ।


सुनुवाईमा जनप्रतिनिधि तथा सरोकारवालाहरुले वडा नं ६ मुक्ली र वडा नं ८ देउसालाई अति प्रभावितमा राख्नुपर्ने, माछा लोप हुने र माछा मारेर जीविका चलाउने परिवार विस्थापित हुनुपर्ने अवस्था, लगानीको सुनिश्चित गर्न, सुरुङ खन्दा अपनाउनुपर्ने सावधानी तथा संभावित क्षतिलाई ध्यानदिनुपर्ने लगायतका सुझावदिएका छन् ।


कार्यक्रममा वातावरण विद् सलिल देवकोटाले पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन जनता माझ प्रस्तुत गरेका थिए । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रबुवाघाटमा नेपाल विद्युत प्राधिकरणको लगानीमा बन्ने दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट)का कारण दुधकोशी २ (जलेश्वर) जलविद्युतको क्षमता २३० बाट ७० मेगावाटमा झारिएको थियो । २३० मेगावाट जलविद्युत आयोजनाको वातावरणय प्रभाव मुल्यांकन सन् २०१५ मै स्विकृत भएपनि क्षमता परिर्वतन भएका कारण पुरक प्रभाव मुल्यांकन गर्नु परेको हो । साढे १४ अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको प्रभावित क्षेत्र थुलुङदुधकोशी गाउँपालिका मात्र पर्दछ ।


दुधकोशी हाईड्रोपावर प्रा.लिका जनसम्पर्क अधिकृत जनक खनालले सुनुवाई कार्यक्रमबाट आएका सुझावलाई समावेशगरि प्रतिवेदनलाई पुर्णता दिने र प्रभावित नागरिकलाई सजिलो हुनेगरि आयोजना निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । थुलुङदुधकोशी गाउँपालिका ७ देउसा र वडा नं ५ जुबुको सिमानामा बाँधनिर्माण हुने आयोजनाको विद्युत गृह वडा नं ४ जुबु क्षेत्रमा निर्माण गरिनेछ । आयोजनाको ३.४ कि.मि. सुरुङ खनिनेछ । वडा नं ४, ५ र ७ लाई अति प्रभावितको सूचीमा राखिएको छ । काम शुरु भएको ५ बर्षमा निर्माण सम्पन्न गर्ने राखिएको आयोजनाले बार्षिक ४३० गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ ।


आयोाजना क्षेत्रमा ११ प्रकारका रुखहरु (साल, चिलाउने, सल्लो, अमला, पिपल, मौवा, लाम्पाते, कुट्मेरो, मलेतो आदी), १५९ प्रकारका पुष्पहरु, २५ प्रकारका झाँडीहरु, ५६ प्रकारका जडिबुटीहरु पाईन्छन् । दुधकोशी नदिमा ६ प्रकारका माछा (असला, कत्ले, काप्रे, तिते आदी) पाईन्छन् । ति माछाको संरक्षणका लागि पनि आवश्यक काम गरिने वातावरणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।


आयोजना क्षेत्रमा वनढाडे, चितुवा, बाँदर, घोरल, मृग, थार आदी वन्यजन्तु पाईन्छन्, भने बकुल्ला, हुचिल, चिवे, कोईली, जुरेली, काग आदी चराचुरुङगी पाईने प्रतिवेदनमा समाबेश छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!