दुधकुण्ड पिके अल्ट्रा म्याराथुन : लक्ष्मण र मुना प्रथम

सोलुखुम्बु, माघ २४


पर्यटन प्रर्वद्धन र महिला शसक्तिकरणका लागि द स्मल वल्र्ड (टिएसडब्लु)द्धारा आयोजित दुधकुण्ड पिके अल्ट्रा म्याराथुनमा पुरुष तर्फ लक्ष्मण खालिङ राई र महिला तर्फ मुना राई प्रथम भएका छन् ।

३५ नेपाली धावक सहभागी अल्ट्रा म्याराथुनमा पुरुष तर्फ राईले निर्धारित ४५ किलोमिटरको ६ घण्टा ३८ मिनेट २ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन् भने महिला तर्फ निर्धारित २५ किलोमिटरको दुरी ३ घण्टा ४७ मिनेट ८ सेकेण्डमा पुरा गरि प्रथम बनेकी छिन् ।


पुरुष तर्फ ६ घण्टा ४७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै उमेश राई द्धितीय र ६ घण्टा ४८ मिनेट ३ सेकेण्डमा पार गर्दै आङछिरिङ शेर्पा तृतीय बनेका छन् । महिला तर्फ निर्धारित दुरी ४ घण्टा २० मिनेट ५६ सेकेण्ड पार गर्दै मिङमारल्हेमी द्धितीय र ५ घण्टा १ मिनेट २५ सेकेण्डमा पार गर्दै सुसन कार्की तृतीय भएकी छिन् ।

पुरुष धावकले फाप्लुबाट लोदिङ–पिके–बेनी–टाक्सिन्दुको रुट प्रयोग गरेका थिए भने महिला धावकले फाप्लु–बेनी–टाक्सिन्दुको रुट प्रयोग गरेका थिए । म्याराथुनको नेतृत्व धावक दा छिरी शेर्पाले गरेका हुन् ।

म्याराथुनमा प्रथम, द्धितीय र तृतीय हुनेलाई (दुवै) नगद २० हजार, १० हजार र ५ हजार पुरस्कार वितरण गरिएको छ । प्रथम र द्धितिय हुनेलाई दा छिरी दावा शेर्पाको नेतृत्वमा सेप्टेम्बरमा डोल्पामा हुने डोल्पा ट्रेल रेस र अक्टोबरमा हुने सोलुखुम्बु ट्रेल रेसमा निशुल्क रुपमा सहभागी गराईनेछ ।

फाप्लुबाट शुरु भएको म्याराथुनको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर कल्पना राई, टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पा, धावक शेर्पाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

म्याराथुनमा माछापुच्छ्रे बैँक, सल्लेरी शाखा र सोलुदुधकुण्ड नगरपालिकाले प्रायोजन गरेको थियो भने हिमाल एफ.एम. अफिसियल मिडिया पार्टनर थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु