दुधकुण्ड पदमार्गमा चर्पी नहुँदा माहामारी फैलने चिन्ता

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १९ साउन,

धार्मिक पर्यटकिय स्थलको रुपमा चिरपरिचित दुधकुण्ड क्षेत्रको पदमार्गमा चर्पी सहित आबश्यक भौतिक संरचना नबन्दा तिर्थयात्रीलाइ चरम समस्या हुने गरेको छ । सोलुखुम्बुको नुम्बुर हिमालसंगै रहेको दुधकुण्डमा नागपञ्चमी देखि जनैपुर्णिमा सम्म भक्तजनहरु पुग्ने गरे पनि बासका लागि होटल तथा लज र चर्पी नहुँदा सबैभन्दा सास्ती बेहोर्नु परेको हो । दुधकुण्डमा यस पर्बमा बार्षिक ५ सय सम्म तिर्थयात्री पुग्ने गरेका छन् ।

बाटोमा पर्ने रिङमु गाउँ सम्म ब्यबस्थीत घर, होटल भए पनि त्यसभन्दा माथिका पदमार्गमा चर्पी समेत छैन । सदरमुकाम सल्लेरीबाट दुधकुण्ड सम्म पुग्न पैदल ३ दिन र फर्कन २ दिन गरि ५ दिन सम्म लाग्दछ । तर जंगलको चौँरीगोठको चिसो भुइमा बास बस्नु परेपछि स्वास्थ्य समेत बिग्रने गरेको तिर्थयात्रीहरुको गुनासो छ ।

रिङमु देखि माथि दुधकुण्ड सम्म एउटा पनि चर्पी नपाइएको र बाटो छेउमा फोहोर गर्नु पर्दा असहज भएको उनीहरुको भनाइ छ । प्रसिद्ध धार्मिक स्थलमा पुगेर जथाभाबि चर्पी बस्नु पर्दा दुख लागेको काठमाडौ याट्खाकी सर्मिला श्रेष्ठले गुनासो गरिन् । उनले भनिन्, “तिर्थाटनका लागि भनेर काठमाडौँ देखि आइयो, यात्रा पनि राम्रो भयो तर चर्पीकै कारण म यो क्षण कहिल्यै बिर्सन सक्दीनँ । झाडीमा चर्पी बसेको पहिलो अनुभब गरेँ ।”

दिशापिसाब बगाएर पोखरीमा लैजाने र पोखरीकै पानी खाना पकाउने देखि पिउने सम्म प्रयोग गर्दा माहामारी फैलले प्रबल संभावना रहेकोमा तिर्थयात्रीको चिन्ता छ । सिन्धुपाल्चोक बलेफी देखि आएका अर्का यात्री बिकास श्रेष्ठले भने, “त्यो ठाउँमा अलि धेरै दिन बसियो भने झाडापखला लाग्ने र महामारी फैलने निश्चीत छ । त्यसैले दुधकुण्डको प्राकृतीक सुन्दरताको राम्रो मज्जा लिन नपाउदै फर्किनु पर्याे ।” नाक खुम्च्याउदै बिकासले थपे, “यस्तो चिरपरिचित धार्मिक स्थल क्षेत्रमा पनि चर्पी नबनाउदा दुख लाग्यो ।”

रिङमु देखि माथि केरुङपार्टी, सरकारी पार्टी, कामडाँडा, जोम्लेखोला, सश्राबेनी र दुधकुण्डमै समेत तिर्थयात्रीलाइ बास बस्न अस्थाइ टहरा बनाएर स्थानिय ब्यबसायीले सेवा दिएका छन् । तर चौरीगोठको रुपमा रहेका ती टहरा पनि ब्यबस्थीत नहुँदा हाइ अल्टीच्युटमा पुगेका तिर्थयात्रीहरु बिरामी पर्ने गरेका छन् । धार्मिक तिर्थयात्रामा बिशेष गरि बृद्धबृद्धा पुग्ने गरेपनि चिसो सोत्तरमा सुत्नु पर्ने बाध्यता रहेको ओखलढुंगा रामपुरकी बृद्धा सोममायाँ दाहालले बताइन् ।

अल्टीच्युटबाट बिरामी परेकालाइ उपचारका लागि नेपाल रेडक्रस सोलुखुम्बु शाखाले स्वास्थ्य शिबिर संचालन गरे पनि प्रभाबकारी नहुँदा कतिपय बिरामी परेका तिर्थयात्रीहरु बिचबाटो बाटै फर्कने गरेका छन् ।

दुधकुण्ड पदमार्गको सरसफाइमा सरकारले ध्यान नदिदा सर्बसाधरणले सास्ती पाएका हुन् । सोही दुधकुण्डको नामबाट नगरपालिकाको नामाकरण भएपनि दुधकुण्डकै सरक्षणमा सरकारले चासो नदेखाएको त्यस क्षेत्रका सर्बसाधरणको गुनासो छ ।

आर्थिक बर्ष २०७२/०७३ मा सरसफाइका लागि भनी १० लाख रुपैयाँ बजेट पर्यटन रोयल्टी मार्फत जिबिसले बिनियोजन गरे पनि कामै नगरि उक्त बजेट फ्रिज भएको जिसस लेखा शाखाका कर्मचारी फुरी शेर्पाले बताए । त्यस यता अहिले सम्म दुधकुण्ड क्षेत्रको सरसफाइका लागि कुनै योजना बनाएको नपाइएको स्थानिय अगुवा फडिन्द्र कार्कीको भनाइ छ ।

दुधकुण्डमा मेला वा धार्मिक पुजामा मात्रै नभइ अन्य समयमा पनि पर्यटकहरु आउने गर्दछन् । पर्यटकहरु आउँदा पुर्णरुपमा व्यवस्थित भएर आउद छन् । तर यसरी आउने पर्यटकको संख्या अत्यन्तै न्युन रहेको छ । बार्षिक ३५ हजार भन्दा बढि बिदेशी पर्यटक भित्रिने सोलुमा यस स्थानमा भने नगन्य मात्रामा पुग्ने गर्दछन् । लुक्ला बिमानस्थल हुदै खुम्बु क्षेत्रलाइ मात्रै पर्यटकिय पदमार्गको रुपमा प्रचार गरिएको तर एउटै जिल्लामा पर्ने यी महत्वपुर्ण स्थलहरुको भने कसैले चासो नदिएको दुधकुण्ड सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष फु–ग्याल्जेन शेर्पाले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु