दिप्रुङमा तेश्रो चरणमा २५३ परिवारलाई राहत


खोटाङ, जेठ १७

लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणमा २५३ परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाले वडा नम्बर–१ याम्खाका ३० परिवार, वडा नम्बर–२ डाँडागाउँका ५२ परिवार, वडा नम्बर–३ छोरम्बुका ३० परिवार, वडा नम्बर–४ बतासेका ४१ परिवार, वडा नम्बर–५ सप्तेश्वर छितापोखरीका ३३ परिवार, वडा नम्बर–६ छितापोखरीका ३६ परिवार र वडा नम्बर ७ टेम्माका ३० परिवारलाई राहत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए ।

पहिलो र दोश्रो चरणमा राहत वितरणमा छुट भएका, तोकिएको मितिमा राहत लिन आउन नभ्याएका लकडाउन पीडितलाई वडा–वडामा पुगेर राहत दिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणमा २५३ परिवारलाई वितरण गरेको हो ।

लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै धौ–धौको अवस्थामा पुगेका विपन्न परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, आधा लिटर तेल, एक केजी नुन र तरकारी प्रदान गरेको छ ।

लकडाउनमा तत्काल सहयोग आवश्यक पर्ने र केही समयपछि सहयोग आवश्यक पर्ने विपन्न परिवारको प्राथमिकीकरण गरेर राहत वितरण गर्ने काम भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ वर्गका अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको गाउँपालिकाले दोश्रो चरणमा गाउँपालिकाभित्रका सय परिवार, काठ्माण्डौंमा बसिरहेका २०७ परिवार र मोरङ–सुनसरीमा बसिरहेका १७१ परिवारलाई राहत बाँडेको थियो ।

गाउँपालिकाले गाउँमा लकडाउनको मारमा परेका किसानको तरकारी किनेर राहतसँगै वितरण गरिरहेको छ । बजार अभावमा खेर जाने अवस्थामा पुगेको तरकारी गाउँपालिकाले खरिद गरिदिँदा किसानले राहतको महसुस गरेका छन् ।

गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत दाहाल, सम्बन्धित वडाका जनप्रतिनिधिहरु लगायतले खाद्यान्न वितरण गरेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!