थुलुङ दुधकोशीको मध्यावधिक समिक्षा : जनअपेक्षा अनुसार विकासको काम

सोलुखुम्बु, पुस १८

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले मध्यावधिक समिक्षा गरेको छ । ५ बर्षे कार्यकालको मध्येभागमा हालसम्म स्थानीय तहको विकासमा गरिएका काम र उपलब्धिका विषयमा समिक्षा गरिएको छ । गाउँपालिकाको आयोजनामा मुक्लिमा मध्यावधिक समिक्षाको साथमा चालु आर्थिक बर्ष २०७६–७७ को पहिलो चौमासिकको आयव्यय समेत सार्वजनिक गरिएको छ ।

मद्यावधिक समिक्षाको क्रममा गाउँपालिका अध्यक्ष असिम राईले सूचना पाउने नागरिकको अधिकार सुनिश्चित गर्नका लागि विकास केन्द्रित समिक्षा र सेवाप्रवाह सम्बन्धि सुनुवाई कार्यक्रम आयोजना गरेको बताए । जनताको अपेक्षा अनुसार नै काम गरेको दाबी गर्दै अध्यक्ष राईले जनताको अपेक्षा र सुझाव अनुसार अघि बढ्ने सोचले कार्य समिक्षा गरिएको बताए ।

अध्यक्ष राईले गाउँपालिकाको नाम दुधकौशीकाबाट थुलुङ दुधकोशी बनाईनु, मुक्लिलाई केन्द्र तोकेर जग्गा व्यवस्थापन सहित प्रशासनिक भवन बनाउनसक्नु, बैँक र प्रहरी चौकी स्थापना, ६ वटा वडालाई जोड्ने पन्चन देखि देउसाको अम्राससम्मको गौरबको आयोजनाको सडक सम्पन्न गर्नु, अधिकांश टोलमा ग्रामिण सडक विस्तार र स्तरोन्नतीलाई गाउँपालिकाले आफ्नो उपलब्धिको रुपमा लिएको बताए । उनले प्रदेश र संघीय सरकारसंग समन्वय गरेर विकास निर्माणको काममा लागि परेको बताएका छन् ।

अध्यक्ष राईले दिप्लीघाट, चोर्पुघाट र बर्खुघाट मोटरेबल पुल निर्माण आफ्नै कार्यकालमा पुरा गर्ने दाबी गरे । उनले दुधकोशी सामुदायीक अस्पताल निर्माणको काम शुरु, अध्यक्षकप खेलकुद प्रतियोगीताको निरन्तरता, आमा सुरक्षा कार्यक्रममा पाएको सफलता, हरेक वडाका नागरिकलाई सुरक्षित पिउनेपानी खुवाउन डिपिआरको काम शुरु, प्राविधिक शिक्षाको शुरुवात, सामुदायीक विद्यालयको शिक्षामा सुधारको कोशिस लगायतका काममा स्थानीय सरकार दृढ भएर लागेको बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक सविता राईले समितिमा दर्ता भएका उजुरीहरुलाई मेलमिलापबाटै टुंगोमा पुर्याएको बताईन् । साढे दुई बर्षको अवधिमा १२५ वटा उजुरीको किनारा लगाईसकेको र चालु आर्थिक बर्षमा दर्ता भएका ५ उजुरीमध्ये ३ वटा किनारा लगाईएको छ । छिट्टै न्यायीक ईजलास र वडावडामा मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा रहेको उपाध्यक्ष राईले बताईन् ।

सार्वजनिक सुनुवाईमा पनि पहिलो

थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको आयव्यय समेत सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अविलाल राईका अनुसार संघीय सर्सत कार्यक्रम शिर्षकमा १७ करोड ३० लाखमध्ये प्राप्त ५ करोड ८३ लाख ८३ हजार ५६४ रुपैँयामा ३७.३५ प्रतिशत बजेट खर्च गरेको छ । वित्तीय समानीकरण र राजस्व बाँडफाँडतर्फको ४९ करोड ३७ लाख २७ हजार मध्ये पहिलो चौमासिकमा प्राप्त ८३ लाख २४ हजार ५१७ रुपैयामा २७ लाख ९३ हजार २४१ रुपैँया (३३.५५ प्रतिशत) खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

पुजीँगत तर्फ पहिलो चौमासिकमा प्राप्त ४ करोड ७९ लाखमध्ये एक करोड ३४ लाख ९० हजार (२८.१६ प्रतिशत) खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा पालिकास्तरको ९९ वटा र वडास्तरका १५८ गरि २५७ योजना कार्यान्वयन गर्ने गाउँपालिकाले हालसम्म वडास्तरको ८० वटा र पालिकास्तरको २६ वटा योजना सम्झौता गरेको छ । सम्झौता योजनामध्ये पालिकास्तरको ३ वटा र वडास्तरको १० वटा योजना कार्यान्वयन सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

गाउँपालिकाले हालसम्म १२ वटा ऐन निर्माण गरेको छ भने १० वटा नियमावली र कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु