ज्याक कलिसद्वारा टेष्ट क्रिकेटबाट सन्यास

हिमाल एफ एम, पुस ११ – दक्षिण अफ्रिकाका क्रिकेटर ज्याक कलिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले भारतविरुद्ध हुने बक्सिङ डे टेष्ट अर्थात क्रिसमसको भोलीपल्टदेखि सुरु हुने टेष्ट क्रिकेट आफ्नो जीवनकै अन्तिम टेष्ट हुने घोषणा गरेका हुन् ।
भारत र दक्षिण अफ्रिकाबचीको बक्सिङ डे टेष्ट बिहीबारदेखि डर्बानमा सुरु हुँदै छ । टिमले सफलता पाइरहेको अवस्थामा सन्यासको घोषणा गर्नु त्यति सजिलो नभएको भन्दै कलिसले आफ्ना लागि सन्यासको घोषणा गर्ने यो सही समय लागेको बताए । अहिले दक्षिण अफ्रिका टेष्ट वरियतामा शीर्ष स्थानमा छ ।
उनले टेष्ट क्रिकेट छाडेपनि अहिले क्रिकेटलाई नै बिदा नभनेको बताए । एक दिवसीय क्रिकेट खेलिरहने जानकारी दिँदै उनले दक्षिण अफ्रिकालाई आउँदो वर्ष हुने विश्वकप क्रिकेटको उपाधि जिताउन आफू लागि पर्ने बताए । ३८ वर्षको कलिसले भने ‘म फिट भएँ भने २०१५ को विश्वकप खेल्ने छु ।’
दाहिने हाते ब्याट्सम्यान कलिसले सन् १९९५ मा इंग्ल्याण्डविरुद्धको खेलबाट आफ्नो टेष्ट क्रिकेटको खेल जिवन सुरु गरेका थिए । यस क्रममा उनले १ सय ६५ टेष्ट खेल्दै १३ हजार १ सय ७४ रन बनाएका छन् ।
४४ शतक र ८५ अर्ध शतक बनाएका उनी टेष्ट क्रिकेटमा सवैभन्दा धेरै रन बनाउने चौथो खेलाडी हुन् । उनले एक इनिङसमा बनाएको उच्च स्कोर भने २ सय २४ हो । राम्रो अलराउण्डरको रुपमा चिनिने कलिसले टेष्ट क्रिकेटमा बलिङ तर्फ १ सय ९२ विकेट लिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु