जोखिमपुर्ण बन्दै जोरबौद्ध–नेले सडक (फोटो र भिडियोमा हेर्नुहोस्)

सोलुखुम्बु, भदौ २९


सोलुखुम्बुको जोरबौद्ध–नेले सडक जिर्ण बनेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पपछि २०७५ सालमा ब्याकटप गरेको सडक अहिले जोखिमयुक्त बनेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा (जोरबौद्ध)देखि थुलुङ दुधकोशी गाउँपालिकाको देउसा (बोगल)सम्म करिव २२ किलोमिटर ग्रामिण सडक सोलिङका लागि २७ करोड र जोरबौद्ध देखि नेलेसम्मको ब्याकटपका लागि करिव ५ करोड रकम खर्चिएपनि निर्माण भएको ३ महिना देखि भत्किन, उप्किन र भासिन थालेको सडक अहिले जिर्ण बनेको हो ।


डिविएसटी विधिबाट गरिएको ब्याकटपको काम स्वच्छन्द रौता जेभीले गरेको थियो । आर्थिक बर्ष २०७५–७६ को अन्त्यमा निर्माणको काम सकेर पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईले २०७६ असार १३ गते नेलेबजारमा एक कार्यक्रमको आयोजना गरि सडक प्रदेश मातहतको पुर्वाधार विकास कार्यक्रम ओखलढुंगालाई हस्तान्तरण गरेको थियो । कार्यालयका तत्कालिन इन्जिनियर देवेन्द्र प्रसाद देवले सडकको दीगोपनाका लागि मर्मत सम्भारमा ध्यान दिने बताएका थिए ।


गुणस्तरिय काम नभएको सडकको मर्मतमा पनि सम्बन्धित निकाय जिम्मेवार नबनेको सडक आसपासका सर्वसाधारणले बताएका छन् । सडक उप्किनु र भत्किनुले यात्रालाई जोखिमपुर्ण बनाएको र ठाउँठाउँमा जमिन भासिनुले बस्ति नै स्थानान्तरणको अवस्थामा पुगेको बारानेका गोपाल कार्कीले बताए । उनले भने, ‘सडक भासिनुले करिब ३५ घर विस्थापित हुनुपर्ने अवस्था आएको छ । सडकको करिब सय मिटर क्षेत्र भासिदै गएकाले सडक मूनी रहेका घर परिवार विस्तापित हुनुपर्ने अवस्था आउदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन् ।’ सो क्षेत्रमा ढिलोचाँडो पहिरो जोखिम बढेको स्थानीयको भनाई छ ।


सेकारसिङमा सडक भासिएर सवारी गुडाउनै नहुने अवस्थामा पुगेको थियो । अस्थायी सहजताका लागि स्थानीय कालिका देवी यूवा क्लबको श्रमदानमा ढुंगा र माटो भरेर सवारी संचालनको वातावरण बनाएको क्लबका अध्यक्ष तेन्जी शेर्पाले बताए । अर्का स्थानीय इन्द्र बहादुर खत्रीले जमिन भासिने क्रम बर्षेनी बढेपछि त्यसक्षेत्रका नागरिकमा त्रास बढाएको बताए । उनले भने, ‘थुलुङ दुधकोशी हुदै सोताङ र महाकुलुङ क्षेत्र पुग्ने सडकको यो हविगत हुदा सवारी चालकलाई पनि निकै सास्ती हुने गरेको छ । बेलाबेलामा सडक नै अबरुद्ध हुने गर्छ ।’


थुलुङ दुधकोशी गाउँपालिका १ नेले (भित्ते)का नरेश विक जमिन भासिएको स्थानमा मालबाहक आइचर र ट्याक्टर दुर्घटनामा परिसकेको बताए । जोरबौद्ध–नेले सडकखण्डका दर्जनौ स्थानमा गएको पहिरोले यात्रा निकै जोखिमपुर्ण रहने उनको भनाई छ । जोरबौद्ध नजिकको खोल्सा र छाँङखोलामा सडक माथीबाट बग्ने पानीको व्यवस्थित निकास नहुदा ५० प्रतिशत सडक भत्काएको छ ।


ठाउँठाउँमा गएको साना–ठूला पहिरोका कारण ब्याकटप उप्किएर सडक हिलाम्मे बनेको छ । भल पानी निकासको लागि निर्माण गरिएको ड्रेन सफा नगरिदा माटो भरिएर र झाडी बनेकै कारण पानी सडक माथीबाट ओराली लाग्ने गरेको छ । सडक छेउको पुरानो स्काभेटर नहटाइदा र ठाउँठाउँमा गएको पहिरो नपन्छाउदा सडक साँगुरो बनेको छ । जस्ले दुर्घटनाको जोखिम अझ बढाएको छ । गुणस्तरहीन ब्याकटपकै कारण सडकको दर्जनौ स्थानमा खाल्डाखुल्डी परेका छन् । नाजिङबाट नेले पट्टिको सडक तल्लो भागबाट भासिदा सडक निकै साँगुरिएको छ । जस्ले ठूला सवारी आवतवाजतमा समस्या दिएको छ ।


सडक मर्मत सम्भारको विषयमा पुर्वाधार विकास कार्यक्रम ओखलढुंगाका प्रमुख राजेश्वर महतोले आफूहरुलाई हस्तान्तरणको पत्र बाहेक अन्य कागजात नआएकाले खोजी शुरु गरेको बताए । उनले भने, ‘निर्माण कम्पनीको १३ महिने डिपिएल बाँकी भए उस्ले गर्नुपर्ने काम गर्ला । बाँकी काम कागजात प्राप्त भएपछि बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाउछौ ।’


यता, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुले निर्माण कम्पनीलाई सडक मर्मतको लागि आग्रह गरिसकेको जनाएको छ । कार्यालयका इन्जिनियर बुद्धि नारायण श्रेष्ठले कम्पनीकै डिपिएल अवधि बाँकी रहेकाले मर्मतको लागि आग्रह गरिसकेको बताए । उनले भने, ‘ठूलो पहिरो र जमिन भासिएको बाहेक अन्य समस्या बर्षा रोकिना साथ कम्पनीले काम शुरु गर्ने बताएको छ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!