जिल्ला अदालत सोलुखुम्बुमा मुद्धाको संख्या बढ्दो, अदालतको प्रगति ७५ प्रतिशत

शिखर गजरकोटे
सोलुखुम्बु, ३० असार

जिल्ला अदालत सोलुखुम्बुले चालु बर्षमा ७५ प्रतिशत मुद्धाको फैसला गरेको छ ।

विहिबार गरिएको पत्रकार भेटघाटमा अदालतले अघिल्लो बर्षवाट सरेको ३६ र चालु बर्षको १२८ मुद्धामध्ये १२३ थान (७५ प्रतिशत) मुद्धा फछ्यौट गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

चालुबर्षमा जवरजस्तीकरणीमा १४, सम्बन्ध विच्छेदमा १५ र थुनुवामा २८ वटा मुद्धा दर्ता भएको श्रेष्तेदार देवेन्द्र ढकालले जानकारी दिनुभयो । जिल्ला अदालत यो आर्थिक बर्षमा मेलमिलाप केन्द्रमा पठाईएको ४६ थान मुद्धामध्ये १६ मुद्धाको मेलमिलाप गर्न सफल देखिएको छ ।

गत बर्षको तुलनामा चालु बर्षमा मुद्धा दर्ताको संख्यामा समेत ह्रवात्तै बृद्धि आएको छ । आर्थिक बर्ष २०७३/७४ मा ८४ नयाँ मुद्धा दर्ता भएको जिल्ला अदालतमा चालु बर्षमा मात्रै १२८ थान मुद्धा दर्ता भएको हो । मुद्धाको संख्या बृद्धि संगै फैसलाको प्रतिशतमा पनि बृद्धि आएको छ । अघिल्लो बर्ष ७१.२ प्रतिशत प्रगति गरेको अदालतले यो बर्ष ७५ प्रतिशत मुद्धाको किनारा लगाएको हो ।

स्थानीय तहमा गठित न्यायिक समितिको काम व्यवस्थित हुन नसक्दा र वडा तहमा मेलमिलाप केन्द्र संचालनमा आउन नसक्दा पनि मुद्धाको संख्यामा बृद्धि आएको अनुमान गरिएको छ । जिल्ला न्यायधिश नारायण प्रसाद सुवेदीले अन्याय सहन नहुने चेतना अभिवृद्धि र समाजमा पनि अपराधिक घटना बाक्लिनु पनि संख्या बृद्धिको कारण हुनसक्ने बताउनुभयो ।

अदालतमा २०७४ पौष ३ गते पछिका ४१ थान मुद्धालाई किनारा लगाउन बाँकी रहेकाले मुद्धा माथीको कारबाही सकेसम्म छिटो गर्ने पर्यत्न गरिरहेको न्यायधिश सुवेदीको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु