जागीर लगाइदिने नाममा रकम लिने कर्मचारी माथि कारबाही माग

दिलीप खत्री
खोटाङ, २० बैशाख

नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर २ ले जागीर लगाइदिने नाममा परीक्षार्थीबाट रकम अशुल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका नासुमाथि कारबाही माग गरेको छ । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले खोटाङका लागि खुलाएको अहेवको अस्थायी करार कोटामा जागीर लगाइदिन्छु भन्दै दर्जन बढि परीक्षार्थीबाट रकम अशुलेको आरोपमा बैशाख १७ गते पक्राउ परेका नासु केदारनाथ खनालका विषयमा सत्यतथ्य पत्ता लगाएर कानूनी कारबाही गर्न कांग्रेस क्षेत्रीय समितिले माग गरेको हो ।
बुधबार दिक्तेलको त्रिबेणी चौकमा सडकमै पत्रकार सम्मेलन गरेर कांग्रेस क्षेत्रीय समितिले दोषी नासुलाई उन्मुक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । आरोपित खनालले प्रशासनकै अगाडि कमजोरी स्वीकार गरिसकेको र फोनमा बोलेको अडियो प्रमाण समेत भेटिएकाले कारबाही गर्न माग गरिएको कांग्रेस क्षेत्रीय समितिका सभापति तीर्थराज भट्टराईले बताउनुभयो ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सजाय दिने निकाय र कानून हुँदाहुँदै कांग्रेस कार्यकर्ताले कानून हातमा लिएर नासु खनाललाई कार्यकक्षबाट बाहिर निकालेर तालाबन्दी गरेको भन्दै निन्दा गरेको दोश्रो दिन कांग्रेसले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको हो ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेवको अस्थायी करार कोटा खुलाएको थियो । जागीर सुनिश्चितताका लागि घुस खुवाए पनि जागीरमा नाम ननिस्कएपछि असन्तुष्ट परीक्षार्थीले आवाज उठाउँदा नासु खनालले रकम असुलेको खुलेको हो । नासु खनालले १३ परीक्षार्थीबाट प्रतिव्यक्ति २० हजारदेखि ५० हजारसम्म असुलेको उजुरीमा उल्लेख छ ।

रकम दिए पनि अहेवको करारमा नाम ननिस्किएपछि आक्रोशित परीक्षार्थीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ लाई सहयोगका लागि गुहारेपछि घटना छताछुल्ल भएको हो । कांग्रेस क्षेत्रीय समितिले आवाज उठाउँदै नासु खनाललाई कार्यकक्षबाट बाहिर निकालेर ताला लगाएपछि प्रहरीले खनालाई नियन्त्रणमा लिएर प्रशासन समक्ष बुझाएको थियो । खनालमार्फत पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाका नासु ज्ञानप्रसाद पोखरेल लगायतको हातमा रकम पुगेको श्रोतको दाबी छ ।

नासु खनालले दुई महिना अघि नै जागीर लगाइदिने नाममा परिक्षार्थीबाट घुस लिएको पीडितबाट गुनासो आएको छ । पीडित मध्ये नेर्पाका श्यामकुमार फुयाँलले नासु खनाल बिरुद्ध आईतबार प्रशासनमा उजुरी दिनुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु