जनताको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : मन्त्री डा. तुम्वाहाम्फे

दिलीप खत्री,
खोटाङ, फागुन २७
– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनु भएको छ । खोटाङको दिक्तेलमा मंगलबार दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले आयोजना गरेको कानून संग्रह २०७६ भाग १ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले नेपालको संविधान परिवर्तनशील रहेकोले समय र परिस्थिति अनुसार संशोधन गर्दै जाने बताउनु भएको हो । हाम्रो संविधान ढुङ्गाले लेखिएको अक्षर हैन । संशोधन गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘परिवर्तनशील छ भन्दैमा कुनै समूह अथवा व्यक्तिको स्वार्थपूर्ति गर्नका लागि परिमार्जन हुँदैन ।’

संविधानभन्दा बाहिर नजान जनप्रतिनिधिलाई निर्देशन दिदै मन्त्री तुम्बाहाम्फेले नेपालको संविधानले सबैको हक तथा अधिकार सुनिश्चित गरेकाले संविधानभन्दामाथि कोही पनि नरहेको जिकिर गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधि जनतासँग सिधा सम्पर्कमा हुने भएकाले जनचाहना अनुसार काम गर्न आग्रह गर्दै जनताको आशा र भरोसा स्थानीय तहका जनप्रतिनिधिमाथि रहेको छ, उहाँले भन्नुभयो, उनीहरुको चाहनालाई सम्बोधन गर्नेगरि नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नुहोस् ।

जनप्रतिनिधिलाई सहयोग गर्न राष्ट्रसेवक कर्मचारीलाई समेत निर्देशन दिदै मन्त्री तुम्बाहाम्फेले भन्नुभयो सबैको सहकार्यबाट मात्रै सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने भएकाले समृद्ध देश र सुखी नेपालीको चाहना पूरा गर्न सबै एकतावद्ध हुनुपर्छ ।

देश संविधान कार्यान्वयनको चरणमा रहेको बताउदै मन्त्री तुम्बाहाम्फेले आफूले पाएको अधिकार कार्यान्वयमा जोड दिन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । ‘अधिकार खोज्दा आफ्नो दायित्वलाई नभुलौँ’, उहाँले भन्नुभयो, ‘कुनै पनि काम गर्दा ऐन तथा नियम अगाडि राखेर मात्र गर्ने बानी बसालौँ ।’

मन्त्री तुम्बाहाम्फेले स्थानीय तह सञ्चालन ऐन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नीति तथा नियम आफै बनाएर कार्यान्वय गर्न सफल भएकोप्रति खुसी व्यक्त गर्दै नगरपालिकाले लागू गरेको ऐन तथा नियमावली जनचाहना विपरित रहेको खण्डमा परिमार्जन गर्न पनि आग्रह गर्नुभयो ।

कानून संग्रह सार्वजनिकीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभा सदस्य विना श्रेष्ठ, प्रदेशसभा सदस्य उषाकला राई, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, राजनीतिक दलमा प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायाधिस मातृकाप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!