छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास हल्लामात्र भएको गृह मन्त्रालयको दाबी

 

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २०
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेको खबर सत्य नभएको बताउनुभएको छ ।

महाकुलुङ गाउँपालिकाकामा पनि केही दिन अघिदेखि गाउँमा नौला मानिसको गतिविधि बढेको र उनीहरुलाई सोधपुछसमेत भएको बताउनुभयो विप्लव कार्यकर्ताको झण्डै ३० जनाको समूह आइतबार राति १२ बजेतिर हतियारसहित प्रहरी चौकीमा पुगेको र आक्रमणको सूचना पाएपछि प्रहरी पहिले नै सुरक्षित स्थानमा गएकोले घटना हुन नपाएको स्थानीय बासीन्दाले बताएका छन् ।

आज दिउँसो पनि त्यस क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले गस्ती गरेको स्थानीयको भनाइ छ । बिहानैदेखि स्थानीयबासीन्दामा भने त्रास फैलिएको छ । अहिले महाकुलुङ गाउँपालिकामा चहलपहलसमेत कम भएको स्थानीय बासिन्दाको भनाइ छ । सरकारी पक्षले आक्रमण प्रयास भएको पुष्टि नगरे पनि गाउँमा गतिविधि बढेकोले आफूहरुलाई चिन्तित बनाएको उनीहरुको भनाइ छ ।

सुरक्षा संयन्त्र महाकुलुङमा केन्द्रित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवका कार्यकर्ताहरुबाट सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भएपछि तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । आइतबार रातिको उक्त घटनापछि आज दिउँसो गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवकाकार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको बताएका थिए । गृहमन्त्री थापासँग प्रहरी प्रमुखको ब्रिफिङ लगत्तै उक्त स्थानमा थप प्रहरी टोली परिचालन गरिएको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्लामा विप्लवका गतिविधि बढेकाले थप सुरक्षा सर्तकता अपनाइएको जानकारी दिए । आइतबार राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको दाबी गरीएको छ ।

घटनामा आफ्नो संलग्नता नरहेको विप्लबको जिकिर ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको पार्टीले जनाएको छ ।विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको प्रस्ट पारेको छ ।

छेस्काममा आक्रमणको प्रयास भएको भन्दै सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ । आइतबार राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चार प्रहरीले भागेर ज्यान जोगाएर भागेको प्रहरीले बताउँदै आएको छ ।

प्रहरी चौकी आक्रमणको प्रयास भएपछि विराटनगर र काठमाडौंबाट प्रहरी र सशस्त्र प्रहरीको टोली छेस्काम पुगेको छ । विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी हेलिकोप्टरबाट छेस्काम उत्रिएका छन् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु