छायाँमा दुधकुण्ड

1सोलुखुम्बु, हिमाल एफ एम – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट उत्तर तर्फ देखिने हिमाल नुम्बुर हिमाल हो । त्यही नुम्बुर हिमालको काखैमा पोखरी छ, जसलाइ दुधकुण्डको नामले चिनिन्छ ।

धार्मिक महत्व समेत बोकेको प्राकृतिक सुन्दरताले भरिएको यस कुण्डमा मौसमी पर्यटकहरु समेत पुग्ने गर्दछन् । तर प्रचार प्रसारको अभाबमा हिमाल जस्तै उच्च स्थानमा रहेर पनि गहिरो खोँचमा रहे जस्तो छायाँमा परेको छ ।
2समुन्द्र सतह देखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने दुधकुण्डमा जनैपुर्णिमाको दिन बिशेष मेला लाग्ने गर्दछ । प्रत्येक बर्ष जनैपुर्णिमाको अबसरमा हाइ अल्टीच्युट पार गर्दै ३ हजार भन्दा बढि दर्शनार्थी र पर्यटकहरु पुग्ने गर्दछन् । त्यस बाहेक सगरमाथाको जिल्ला सोलुखुम्बु भ्रमण गर्न आउने पर्यटकहरु आंशिक मात्रामा यस दुधकुण्डमा पुग्ने गर्दछन् । तर उस्तै प्राकृतिक र धार्मिक महत्व बोकेको रसुवाको गोसाइकुण्ड जस्तो प्रख्याती दुधकुण्डले कमाउन सकेको छैन । प्रचार प्रसार र सरोकारवालाहरुले पर्यटकिय स्थलको रुपमा ब्यबस्थीत गर्न नसक्दा ओझेलमा परेको दर्शनार्थीहरु बताउछन् ।

3दुधकुण्डको धार्मिक महत्व
सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकोले यसलाई दुधकुण्ड भनिएको हो । जनैपुर्णिमा मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किराँतीहरु समेत दुधकुण्ड पुग्ने गर्दछन् । त्यसो त यहाँ आइपुग्ने दर्शनार्थीहरुले त्री–धार्मिक स्थलको रुपमा बर्णन गर्ने गर्दछन् ।

4विशेषगरि जनैपुर्णिमाको दिन यस स्थानमा भव्य मेला लाग्ने गर्दछ ,यस पर्वका दिन यहाँ सोलुका छिमेकि जिल्लाहरु रामेछाप, ओखलढुङ्गा, खोटाङबाट समेत हजारौँ भक्तजनहरु आउने गर्दछन् । हिमालको फेदमा अवस्थित यो स्थानमा विशाल ताल रहेको छ । जनैपुर्णिमाको अवसरमा यस स्थानमा नुहाए पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । यो तालको अतिरिक्त यसको आसपास गंगा–जमुना ताल, भुतपोखरी ताल गरि जम्मा १० वटा स–साना तालहरु समेत रहेका छन् । पोखरीको सुरुको छेउमा अहिले सानो मन्दिर निर्माण गरिएको छ । यहाँ पुजा आजा गर्ने तथा बत्ति बाल्नको लागि समेत प्रबन्ध गराइएको छ । पोखरीको अर्को छेउमा महादेवका रुपमा शिवलिङग रहेको छ । यहाँ पनि मानिसहरु पुजा गर्दछन् । पोखरी पुरै घुम्न नसक्ने मानिसहरु यहिँबाट फकर्ने गर्दछन् । बुबा–आमा भएका मानिसहरु पुरै पोखरी नघुम्नु भन्ने समेत जनधारणा रहेको छ ।

पोखरीको नजिकै सानो बुद्धको मुर्ति समेत रहेको छ, यसलाई बौद्ध धर्मावलम्बिहरुले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्दछन् यो स्थानसम्म आइपुग्न पोखरीको वल्लो छेउदेखि लगभग २ घण्टा हिड्नु पर्दछ । यहाँबाट ओरालो झरेपछि विशाल ढुङगाको फेदमा आयु माग्ने स्थान छ यहाँ गई पुजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास रहेको छ ।

5पर्यटन प्रबद्र्धनमा ब्यवास्ता
दुधकुण्डमा मेला वा धार्मिक पुजामा मात्रै नभइ अन्य समयमा पनि पर्यटकहरु आउने गर्दछन् । पर्यटकहरु आउँदा पुर्णरुपमा व्यवस्थित भएर आउद छन् । तर यसरी आउने पर्यटकको संख्या अत्यन्तै न्युन रहेको छ । बार्षिक ३५ हजार भन्दा बढि बिदेशी पर्यटक भित्रिने सोलुमा यस स्थानमा भने नगन्य मात्रामा पुग्ने गर्दछन् । पर्यटकका लागि पदमार्गको प्रचार प्रसार हुन सकेको छैन भने बस्ने स्थानको पनि अभाव छ । बिचमा कुनै पनि होटल तथा लजहरु छैनन । दुधकुण्डलाइ छुटै पदमार्गको रुपमा बिकास गर्न आबश्यक रहेको टाक्सीन्दु गाबिसका स्थानिय सुरेश खड्काले बताए ।

लुक्ला बिमानस्थल हुदै खुम्बु क्षेत्रलाइ मात्रै पर्यटकिय पदमार्गको रुपमा प्रचार गरिएको तर एउटै जिल्लामा पर्ने यी महत्वपुर्ण स्थलहरुको भने कसैले चासो नदिएको फु–ग्याल्जेन शेर्पाले बताए । स्थानिय संचार माध्ययमको भरमा मात्रै दुधकुण्डको प्रचार संभब नरहेकोले बिशेष योजना बनाएर काम गरिनु पर्ने नोम्याट नेपालका पर्यटन ब्यबसायी कर्मा शेर्पाले बताए ।

सोलुखुम्बु प्रबेश गर्ने पर्यटकबाट बार्षिक ३० करोड भन्दा बढि रकम राज्यले प्राप्त गर्दछ । त्यसको ३० प्रतिशत हिस्सा स्वयम जिल्लाको पर्यटक प्रबद्र्धनका लागि खर्च गरिनु पर्ने ब्यबस्था छ । तर जिबिस र राजनितिकि दलहरुले उक्त रकमलाइ अन्यत्र खर्च गर्ने गरेको छ । यस बर्ष भने दुधकुण्डको सरसफाइका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको स्थानिय बिकास अधिकारी महेश पराजुलीले बताए । तर त्यस रकमलाइ कसरी खर्च गर्ने भन्ने बारे अहिले सम्म कुनै योजना बनाइएको छैन ।
हरेक बर्ष पुग्ने दर्शनार्थी तथा पर्यटकले गरेको फोहोरले सो क्षेत्रको बाताबरण समेत बिग्रदो अबस्थामा पुगेको छ । दुइ दिनको पैदल बाटोमा एउटा पनि चर्पी निर्माण गरिएको छैन भने फोहोर ब्यबस्थापनका लागि कुनै संरचना निर्माण गरिएको छैन । फोहोर ब्यबस्थापनको कार्य अत्याबश्यक रहेको मेलाको अबसरमा स्वास्थ्य शिबिर चलाउदै आएको नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुका सभापति बुद्धलक्ष्मी राइले बताइन् । दुधकुण्डको प्रचार प्रसार संगै सरसफाइमा पनि उत्तिकै चासो दिइनु पर्ने टाक्सिन्दु गाबिसका सचिब राजु गिरीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु