चिराचिरा परेको भवनमा पढाई

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १६

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर पढाईरहेको छ । कक्षा ५ सम्म पढाई हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउदै आएको हो ।

निकै जिर्ण बनेको भवनमा अहिले नर्सरी र कक्षा ३ का बालबालिकालाई राखिएको छ । जोखिमलाई मध्येनजर गर्दै विकल्प खोज्नका लागि दबाब दिएपनि विद्यालयले टेरपुच्छर नलाएको अविभावक विमला कट्टेलको गुनासो छ । ‘बार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्ने समयमा अविभावकले तत्काल विकल्प खोज्न दबाब दिएका हौ ।’ उनले भनिन्, ‘एक महिनामै विकल्प खोज्ने आश्वासन दिएपनि ४ महिना वितेपनि परिर्वतन आएको छैन् ।’ उनले हावाहुरी आएको बेला भवन भत्कियो की भन्ने डरले अत्तालिदै बच्चा दिनका लागि दौडधुप गर्नुपर्ने अवस्था रहेको बताईन् ।

चिराचिरा परेको भवनमा टेको दिएर विद्यार्थी पढादै गरेको नेचा एपेक्स एकेडेमीको जिर्ण भवन
फोटो-शिखर गजरकोटे

चिन्ता अविभावकलाई मात्र होईन, विद्यार्थीको मनमा पनि डरको भारी छ । तर विद्यार्थीहरु मनमा डर बोकेर शिक्षा आर्जन गर्न बाध्य छन् । विद्यालय व्यवस्थापनले बालमनोविज्ञान बुझ्न नसकेको अविभावकले गुनासो गरेका छन् । कक्षा ३ मा अध्ययनरत विद्यार्थी एल्जिन कट्टेलले शुरुमा निकै डर लागेपनि लामो समय देखि बसेकाले बानी परिसकेको जवाफ दिए । कट्टेलले भने, ‘अझै पनि बेलाबलामा साथीहरुले डर व्यक्त गर्छन् ।’ बर्षौ देखि यस्तै भवनमा बसेकाले बानी परेको उनको भनाई छ ।

करिब एक सय जना विद्यार्थीले पढ्ने एकेडेमीको पुरानो भवन भुकम्पले मर्कापछिे तल्लो भागवाट काठले टेको दिईएको छ भने माथिल्लो भागको ढुंगाको गाह्रो फुस्केर धराप बनेको छ ।

एकेडेमीले प्रयोगमा ल्याएका अन्य कक्षकोठा पनि शैक्षिक वातावरण सुहाउदो नभएको अविभावकको गुनासो छ । अघिल्लो भागमा बाँसको चोया र अन्य भागमा जस्तापाता प्रयोग गरिएको छ भने शौचालयको अवस्था दयनिय छ । समस्या थाहा हुदाहुदै पनि हात बाँधेर बस्नुपरेको प्रिन्सिपल मुकुन्द अधिकारीको भनाई छ । ‘हामीले व्यवस्थापनलाई पटक पटक भनिसकेका छौ ।’ उनले थपे, ‘कार्यकारी पावर आफू संग नभएकाले पनि समस्यालाई सामाना गर्नु शिवाय अर्को विकल्प छैन् ।’ उनले जिर्ण भवनमा पढाउदा शिक्षकहरुे समेत डराउने गरेको बताए ।

उता, विद्यालय व्यवस्थापन पक्षले दिगो व्यवस्थापनको तयारी थालिएको प्रतिक्रिया दिएको छ । भवन निर्माणको लागि साढे ३ रोपनी जग्गा भाडामा लिएको र यहि महिना देखि निर्माणको काम थाल्ने समितिका अध्यक्ष हेमराज भट्टराईले बताए । उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि नयाँ भवनमा सार्ने हाम्रो योजना छ । नर्सरी र कक्षा ३ को कक्षा संचालनका लागि अस्थायी विकल्पको खोजी गर्नेछौ ।’

नजिकै गाउँपालिकाको कार्यालय र सोही बाटो भएर हिड्ने जनप्रतिनिधिले जिर्ण भवनमा पठनपाठन भएको चाल पाएपनि चासो नदेखाएको स्थानीयको गुनासो छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!