चाक्चाकुर पर्व मनाउन ३ दिन बिदा

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ११

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले चाक्चाकुर पर्वका लागि ३ दिन बिदा दिने निर्णण गरेको छ । पुस १० गते बसेको कार्यपालिकाको वैडकले कुलुङहरुको महान पर्व चाक्चाकुरका लागि पुस १५ देखि १७ गतेसम्म स्थानीय बिदा दिने निर्णय लिएको हो । गाउँपालिकाको यो निर्णयलाई कुलुङ समुदायले स्वागत गरेका छन् । निर्णय कार्यान्वयनका लागि सरकारी कार्यालय र विद्यालयहरुलाई आग्रह समेत गरिएको छ । कुलुङहरुको उदुगम स्थलको रुपमा लिइने महाकुलुङ क्षेत्रमा हरेक पुस १५ मा चाक्चाकुर पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाईन्छ ।

सवारी खरिदको बजेट विकास निर्माणमा

वैठकले सवारी साधन खरिदमा छुट्याएको बजेट विकास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । सवारी साधन खरिद शीर्षकमा विनियोजित ६२ लाख बजेट रकमान्तर गरी विकासमा खर्च गर्ने निर्णय लिईएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले सवारी साधन गरिद गर्न विनियोजन गरेको ६२ लाख रुपैयाँ बजेट रकमान्तर गरी विभिन्न विकास निर्माण तथा सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । ६२ लाखमध्ये सुर्के खोला लघु जलविद्युत आयोजनालाई १० लाख, पात्ले सिँचाइ आयोजनालाई ५ लाख रकम छुट्याइएको छ । गुदेलमा बर्थिङ सेन्टर मर्मतका लागि ४ लाख, वडा नम्बर ४ कोे वर्थिङ सेन्टर मर्मतका लागि ४ लाख खर्च गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रको कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा ३ लाखलगायत शीर्षकमा बजेट छुट्याइएको अध्यक्ष किराँतीले बताए । उद्यपी, एक थान स्कुटर खरिदका लागि भने २ लाख ५० हजार विनियोजन गरिएको छ ।

वैठकले ५० केभी क्षमताको ट्रान्समिटर खरिद र ढुवानीका लागि ३ लाख, सडक निर्माणको क्रममा ध्वस्त भएको सगरमाथा माध्यमिक विद्यालयको खानेपानी फिल्टरका लागि ३ लाख, स्वास्थ्य चौकी तुमाउको फर्निचर निर्माण र व्यवस्थापनको लागि ४ लाख र पेल्माङ आधारभूत विद्यालयको गोल्डेन जुब्ली मनाउनका लागि ३ लाख ५० हजार सहयोग गर्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य चौकी गुदेलको भवन मर्मतका लागि ४ लाख, चाकचाकुरको अवसरमा सम्पन्न हुने खुल्ला पुरुष फुटबल प्रतियोगितालाई ४ लाख सहयोग प्रदान गर्ने गाउँपालिकाले निर्णय लिएको छ । गाउँपालिकाको पाश्र्वचित्र निर्माणको लागि ८ लाख विनियोजन गरिने भएको छ भने गाउँपालिका भित्र जुवा, तास र डाइस खेल्न प्रतिबन्ध लगाउने निर्णय पनि कार्यपालिका वैठकले गरेको छ ।

गाउँपालिकाले स्थानिय स्वास्थ्य तथा सरसफाइ ऐन गाउँसभामा पेश गर्ने गरि पारित गरेको छ भने श्रोत व्यक्त्ति दयाराम बस्नेतलाई शिक्षा शाखाको प्रमुखको जिम्मेवारी तोक्ने, पशुपन्छी विकास शाखा प्रमुख डा. बिर्खराज राईले पेश गर्नुभएको कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्द्धन बिधेयक र समुह व्यवस्थापन गर्न बनेको ऐन २०७५ पारित, कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका – २०७५ पारित गरिएको छ । त्यस्तै, गाउँपालिका ३ वाट साबुन उद्योग तथा व्यवस्थापनका लागि ३ लाख रकम छेस्काममा बर्थिङ सेन्टर भवन निर्माणको लागि रकमान्तर गर्ने निर्णय गरिएको काउँपालिकाले जनाएको छ । साथै, गत मंसिर २३ गते निर्धारण गरिएको जीप भाडा कडाइको साथ लागु गराउन गाउँपालिकाले भूमिका खेल्ने निर्णय लिईएको छ ।

अध्ययनका लागि छात्रबृत्ति

अध्यक्ष किरातीको अध्यक्षतामा सम्पन्न वैठकले अध्ययनका लागि कमजोर आर्थिक अवस्था भएका महाकुलुङ गाउँपालिका वडा नं १ की रोशन कुलुङ ४ लाख र महाकुलुङ गाउँपालिका २ की एकता कुलुङलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ । उनीहरुलाई छात्रवृत्तिको रुपमा रकम उपलब्ध गराउन लागिएको हो । रोशन नेपाल मेडिकल कलेज जोरपाटीमा बिबिएस र एकता डिप्लोमा इन फार्मेसी अध्ययन गरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु