गोक्यो तालमा वेपत्ता विद्यार्थीको खोजीका लागि टोली प्रस्थान

सोलुखुम्बु, बैशाख २७

सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका २ बालकको खोजबिन फेरि सुरु हुने भएको छ । तालमा बेपत्ता भएको करिब ९ महिनापछि बालकको खोजी गर्न विदेशी विशेषज्ञ र गोताखोर सहित सशस्त्र प्रहरी बलको संयुक्त टोली गोक्यो ताल प्रस्थान गरेको छ ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पा र योहो टेलिभिजनका पत्रकार विक्रम श्रेष्ठ सहितको टोली अत्याधुनिक उपकरण सहित गोक्यो प्रस्थान गरेको हो ।

हिमतालमा डुबेका बच्चाको खोजीका लागि रोबर्ट, जेनेरेटर, ड्राइसुट लगायत सामग्रीहरु एभरेष्ट हेलिकोप्टर मार्फत आजै गोक्यो हिमताल पु-याएको टोलीका सदस्य पत्रकार विक्रम श्रेष्ठले जानकारी दिनुभयो । टोली आजै रामेछापबाट तेन्जिङ हिलारी बिमानस्थल लुक्ला उडेको हो ।

हेलिकोप्टर मार्फत खोजी सामग्री गोक्यो पु-याएपनि खोजी टोली भने मंगलबार मात्र गोक्यो ताल पुग्नेछ । पत्रकार श्रेष्ठका अनुसार खोजी टोली आज फाक्दिङ बस्नेछ । भोलि नाम्चे, आइतबार दोले र त्यहाँ एक दिन विश्राम गरेर मंगलबार मात्र गोक्यो ताल पुगेर खोजबिनको काम सुरु गर्ने कार्यतालिका छ ।

सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिका ४ स्थित खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका बालबालिका मध्ये ३ जना नुहाउने क्रममा गोक्यो तालमा बेपत्ता भएका थिए । २०७५ साउन १९ गते तालमा डुबेका पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा मध्ये पेम्बा नुरु शेर्पाको शव सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निकालेको थियो । तर गोताखोर तथा नेपाली सेना र नेपाल प्रहरीले लामो समय खोजी गर्दा समेत नभेटिए पछि अन्य दुई जना बालकको खोजी गर्न छाडेको थियो ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएको टोली र सशस्त्र प्रहरीले करिब ९ महिनापछि पुनः खोजबिन सुरु गर्न लागेको हो । हिमतालमा हराईरहेका पेम्वादोर्जे शेर्पा र सुमन बराइलीको शव भेटिनेमा बालकका अभिभावक समेत आशावादी छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु