गुणस्तरिय शिक्षाका लागि ‘बाल विकास’मा जोड

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ५

सोलुखुम्बुमा बालविकासको जग बलियो बनाउने कोशिस थालिएको छ । त्यसको अगुवाई गैरसरकारी संस्था रीड नेपालले गरिरहेको छ । संस्थाले सहयोग गर्ने गरि जिल्लाका ७ वटा विद्यालय छनौट गरि प्रारम्भिक बालविकासको काम शुरु गरेको छ ।

जिल्लाका त्रिभुवन विद्योदय आवि मुक्लि, पेल्माङ मावि बुङ, रामपुर आवि काँकु, लिढुंगा आवि सोताङ, शहिद नरनाथ आवि नेचा, बुडाकिन्जा आवि भकान्जे र गार्मा मावि गार्मामा कार्यरत बालविकास कक्षाका शिक्षिकाहरुलाई १० दिन लामो आवासिय तालिम प्रदान गरिएको छ । मंसिर २९ गते सकिएको तालिममा ५ बर्ष भित्रका बालबालिकामा मनोरञ्जनात्मक सिकाइको लागि ज्ञान र सीप हस्तान्तरण गरिएको छ ।

प्रारम्भिक बाल विकास शिक्षण विधि सिक्दै शिक्षिकाहरु
फोटो–शिखर

तालिमको समापनमा प्रारम्भिक बालविकास कक्षाका शिक्षिकाहरुले सिकेका सीप कक्षाकोठामा लागु गर्ने बताए । शहिद नरनाथ आधरभूत विद्यालयकी शिक्षिका कुमारी खनालले सिकाइको जग बलियो बनाउनका लागि तालिम सार्थक बनेको बताईन् । उनले भनिन्, ‘जग बलियो भएको घर सुरक्षित भएजस्तै बालविकासकै अवस्थामा सिकाइको जग बलियो बनाउन पाए उच्च शिक्षासम्म सहयोग पुग्नेछ ।’ तालिमले आफूलाई प्रभावकारी मनोरञ्जनात्मक सिकाइको सीप दिएको खनालको भनाई छ ।

रामपुर आधारभूत विद्यालयकी शिक्षिका टिका राईले शिक्षण विधिको सिकाइले पठनपाठनमा सहज हुने विश्वास लिएकी छिन् । ‘अहिलेसम्म आफ्नो मात्र ज्ञानले बालविकासको कक्षा संचालन गरिरहेका थियौ ।’ उनले भनिन्, ‘तालिम लिएपछि कक्षाकोठा व्यवस्थापन र पठनपाठनमा सुधार आउने विश्वास छ ।’ सिकेका सीप कक्षाकोठामा प्रयोग भएनभएको अनुगमन भए अझ हौसला मिल्ने टिकाको राय छ ।

नेपाल सरकारले नै ७ वटा पाठ सहित निर्माण गरेको पाठ्यक्रममा आधारित रहेर गीत, कथा, कविता र खेलको माध्यमवाट बालबालिकाको शारिरीक, बौद्धिक, सामाजिक, संवेगात्मक र भाषिक तथा सांस्कृतिक पक्षको विकासको लागि प्रारम्भिक बालविकासको कक्षा संचालन गरिन्छ । बालविकास कक्षामा हुने सिकाइ क्रियाकलापले भाषा, गणित, विज्ञान, स्वावलम्बन, सृजना र अभिनयको क्षेत्रलाई समेट्न सक्नुपर्छ । बालविकासको पाठ्यक्रममा म र मेरो परिवार, चाडपर्व, मेरो गाउँ, पहिचान, यातायात, समय र वातावरणलाई शिक्षिकाले स्वागत देखि विदाईसम्मको क्रियाकलाप मार्फत कक्षा संचालन गर्नुपर्छ ।

बालबालिकाको स्वागत देखि विदाईसम्म प्रार्थना, बाहिरी खेल, सरसफाई जाँच, प्राथमिक उपचार, बालपुस्तिका अवलोकन, खाजा, आराम, राष्ट्रियगान, सरस्वती बन्दना, हाजिरी, बार, हप्ता र गतेको गीत र अभिनयको माध्यमवाट विषयवस्तु प्रवेशले मात्र बालविकास कक्षा सफल बन्ने रीड नेपालका शिक्षा विकास अधिकृत केशव गिरीले बताए । ‘तालिमले बालविकास कक्षा शिक्षिकाहरुलाई कक्षाकोठा व्यवस्थापन, पाठ्यक्रममा आधारित बाल सामाग्री निर्माण, बाल मनोविज्ञान अनुसारको सिकाइ लगायतका क्षेत्रमा तालिम दिएका छौ ।’ उनले भने, ‘शिक्षिकाहरुले सिकेका सीप र तालिमपछि देखिएको उत्साहले बालविकासको कक्षा नमूना बन्ने विश्वास लिएका छौ ।’ बालविकासको आधारभूत कुरा पनि थाहा नभएका शिक्षिकाले तालिम पाएकाले परिर्वतनको बलियो आशा राखेको गिरीले बताए ।

तिन बर्षे कार्यक्रम अन्तरगत नमूना विद्यालयको काम शुरु गरेको रीडले विद्यालयको चौतर्फीको विकासमा सहयोग गर्नेछ । तालिममा सिकेका सीपलाई कक्षाकोठामा कसरी कार्यान्वयन हुदैछ भन्ने कुराको अनुगमन गर्ने र आएका समस्यालाई समाधानको लागि सीप दिदै जाने शिक्षा विकास अधिकृत अमर बहादुर सिंहले बताए । ‘बालविकासको महत्वको ज्ञान र सिकाइको सीप विना गरिएको पठनपाठनले दिर्घकालिन सिकाईको जग बस्न नसक्ने भएकाले परिर्वतन आवश्यक छ ।’ उनले भने, ‘छनौटमा परेका विद्यालयमा नमूना काम प्रर्दशन गरि अन्य विद्यालयमा पनि शिक्षा दिने गरि काम गर्दैछौ ।’ उनले बालविकासको विषयमा शिक्षिकाहरुले चासोका साथ सिकेकाले ज्ञान र सीप कक्षाकोठासम्म पुग्नेमा शंका नरहेको बताए ।

एक दशक देखि शैक्षिक सुधारका लागि काम गर्दै आएको रीड नेपालको प्रारम्भिक बालविकास कक्षालाई सुधार गर्ने कामलाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छन् । संस्थाले हरेक स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईसंग समन्वयात्मक रुपमा काम गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु