गम्भीर अपराधका दोषीलाई क्षमा हुन सक्दैन ः गृहमन्त्री गौतम

जीवन शर्मा,ओखलढुंगा,११ बैशाख
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गम्भीर मानवअधिकार हनन् तथा अपराधका दोषीलाई क्षमा दिन नहुने बताएका छन् । वेपत्ता छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकका विषयमा अनावश्यक विरोध भएको भन्दै गौतमले मानवअधिकार हनन् र गम्भीर अपराधी करार व्यक्तिलाई क्षमा दिनै नसकिने बताएका हुन् ।
द्वन्द्वकालमा तत्कालीन माओवादीबाट ०६० असोज ६ गते अपहरणपछि हत्या गरिएका शिक्षक गुरुप्रसाद लुईटेको शालिक अनावरण कार्यक्रमलाई ओखलढुंगाको रामपुरमा सम्बोधन गर्दै उनले विधेयकमा कतै पनि आममाफीको प्रावधान नरहेको दावी गरे । ‘गम्भीर मानवअधिकार हनन् तथा अपराधमा क्षमा हुनै सक्दैन, विधेयकमा आम माफीको परिकल्पना पनि छैन्’ उनले भने । अब बन्ने आयोगले द्वन्द्वकालका सबै घटना छानविन गर्ने र पीडितलाई माफी दिने या नदिने भनेर जनतालाइ नै सोधिने व्यवस्था गर्ने गौतमले बताए । उनले भने,‘ पीडितले म माफी दिन तयार छु भनेर सहमति दिएमा मात्र माफी हुने छ ।’
एमाले उपाध्यक्ष समेत रहेका गौतमले सरकार एक वर्षभित्रै संविधान जारी गर्ने कार्यशूचीका साथ अगाडी बढीरहेकाले निराश नहुन नागरिकहरुलाई अपिल गरे । ‘हामी एक वर्षभित्रै संविधान ल्याउँछौंं, उनले भने– सोही प्रतिबद्धता अनुसार वेपत्ता छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने काम तीव्र बनाइएको छ ।’ आयोग स्वतन्त्र हुने भएकाले तत्कालीन राज्य तथा विद्रोही पक्ष जो कोहीले गम्भीर अपराध गरेको ठहरेमा क्षमा नदिइने कानुनी कठघरामा उभ्याइने भएकाले द्वन्द्वपीडितहरुलाई नआत्तिन आग्रह समेत गरे । अधिकारकर्मीहरुलाई लक्षित गर्दै उनले भने– ‘तपाईहरुको खवरदारी हामीले सुनिरहेका छौँ’ तत्कालीन सेना, प्रहरी र शसस्त्र प्रहरीबाट भएका ज्यादती पनि आयोगले छानविन गर्नेछ ।’
एमालेको नवौं महाधिवेशनको चर्चा गर्दै सधै जसो केपीओली लाइ भोट माग्न पछि नपर्ने गौतमले आगामी महाधिवेशन कुनै व्यक्ति विशेष भन्दा पनि एकताको महाधिवेशन हुने बताए । नेकपा एमाले र नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले आयोजना गरेको शालिक अनावरण तथा निशुल्क स्वाथ्य शिविर उद्घाटन गर्न गृहमनत्री गौतम नेपाली सेनाको हेलिकोप्टरमा आएका थिए । सोही अवसरमा गुरु लुईटेल अध्ययन प्रतिष्ठानले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल काठमाण्डौंसँगको सहकार्यमा दुई दिने निशुल्क स्वाथ्य शिविर समेत आयोजना गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!