खोटाङ : विद्यार्थीको पर्खाइमा सिभिल इन्जिनिरिङ कक्षा

खोटाङ, जेठ २०
लकडाउनका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोद्धय माविको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित भएको छ ।

प्राविधिक धारतर्फको पठन–पाठनका लागि अन्यत्र जानुपर्ने वाध्यता अन्त्यका लागि २०७६ सालदेखि सुरु गरिएको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित भएको हो । हाल विद्यार्थी भर्ना गरेर आधाभन्दा बढि सैद्धान्तिक कोर्स पूरा हुने बेलासम्म लकडाउनका कारण विद्यार्थी भर्ना नै अनिश्चित बनेको महेन्द्रोद्धय माविका प्रअ चक्रबहादुर राईले बताए ।

गत वर्ष कक्षा ९ मा सिभिल इन्जिनिरिङतर्फ ४० जनाभन्दा बढि विद्यार्थी भर्ना भएकोमा यसपल्ट विद्यार्थी संख्या बेटुंगो बनेको विद्यालयले जनाएको छ । रोजगार पाउन सहज हुने तथा ‘स्कोप’ भएकाले महेन्द्रोद्धय माविमा जिल्लामै पहिलोपल्ट प्राविधिक धारतर्फ कक्षा ९ देखि सिभिल इन्जिनिरिङको पठन–पाठन सुरु गरिएको थियो ।

प्राक्टिकल अध्ययन गर्दै महेन्द्रोद्धय मावि हलेसीका सिभिल इन्जिनिरिङका विद्यार्थी ।

प्राविधिक धारमा विद्यार्थीको आकर्षण राम्रो देखिए पनि लकडाउनका कारण सिभिल इन्जिनिरिङको कक्षा भद्रगोल बन्न पुगेको प्रअ राईले बताए । महेन्द्रोद्धय माविमा ओभरसियर तहसम्मको प्रमाणपत्र दिने गरी शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरकै लगानीमा सिभिल इन्जिनिरिङतर्फ कक्षा ९ देखि १२ सम्मको पठन–पाठन सुरु गरिएको हो ।

पहाडी क्षेत्रमा सस्तो खर्चमा ओभरसियर तहसम्मको अध्ययन गर्न सकिने भएपनि लकडाउनले समस्या निम्त्यिाएको प्रअ राईले बताए । ‘गत वर्षको अनुभवमा विद्यार्थी भर्ना दर सन्तोषजनक नै थियो ।

तर, लकडाउनका कारण यो वर्ष विद्यार्थी भर्ना गरेर सैद्धान्तिक पढाई पुरा भइसक्नुपर्ने बेलासम्म पठन–पाठनको टुंगो छैन,’ प्रअ राईले भने, ‘नगरपालिकाले कक्षा ८ को रिजल्ट पनि प्रकाशन गरेको छैन । पठन–पाठन डामाडोल भएको छ । शैक्षिक संस्थाको ढाँचा नै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ ।’

लकडाउनकै बीचमा पनि महेन्द्रोद्धय माविले सिभिल इन्जिनिरिङको कक्षामा विद्यार्थी भर्नाका लागि आव्हान गरेको छ । अभिभावक तथा चिनजानका माध्यमबाट विद्यार्थी जुटाउने प्रयास जारी रहेको सिभिल इन्जिनिरिङ कक्षाका प्रशिक्षक ईन्जियर सुमन खनालले बताए ।

लकडाउन खुले लगत्तै सिभिल इन्जिनिरिङको इन्ट्रान्स हुने भएकाले सम्पर्कका लागि विद्यालयले अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेको छ । ‘सिभिल इन्जिनिरिङ पढ्नका लागि कापी, पुस्तक लगायतका शैक्षिक सामग्रीमा बाहेक शुल्क लाग्दैन ।

जिल्लाका विद्यार्थीका लागि यो सुनौलो अवशर हो,’ ईन्जियर खनालले भने, ‘लकडाउन खुल्ने वित्तिकै इन्ट्रान्स हुन्छ । इन्ट्रान्समा एसइई उत्तिर्ण नगरेका जुनसुकै ठाउँका विद्यार्थी भर्ना हुन पाउँछन् ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!