खोटाङ : दिक्तेलमै कोरोना संक्रमित फेला परेपछि व्यापार व्यवसायहरु बन्द

खोटाङ, असार १६

खोटाङ उद्योग वाणिज्य संघले दिक्तेलमै कोरोना संक्रमित फेला परेपछि व्यापार व्यवसायहरु बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सेवाबाहेकका व्यापार व्यवसायहरु वुधवारबाट बन्द गराएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार वजिमयले जानकारी दिनुभयो । वाणिज्य संघले प्रत्येक व्यापारीहरुलाई घरघरमा पत्र पठाएर व्यावसाय बन्द गराएको हो ।

दिक्तेलबजारमा अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल भने विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने छन् भने औषधि पशल चौवीसै घण्टा खुला रहने प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दिक्तेलबजारमा कुनैपनि निकायबाट घर–घरमा पुगेर प्रवाह गरिने सेवा बन्द गरिएको प्रजिअ पौडेलको भनाइछ ।

यस्तै, कोरोना संक्रमित फेला परेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्ष र साउदीअरबबाट आएका ३८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पूष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएम) को सोमबार बसेको बैठकले निर्णय गरी अल्छेढुंगा हुँदै बेँसीटोल, नेर्पा जाने बाटोको डाँडागाउँ साकेलाथानसम्मको दायाँ–बायाँ सय मिटर क्षेत्रभित्र सिल गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि तोकिएको क्षेत्रमा प्रवेश गर्न वा बाहिरिनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय पुरुष पाँच दिन मात्र क्वारेन्टाइनमा बसेर घर पठाइएकाले गाउँ सिल गर्नुपरेको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!