खोटाङ : अज्ञात रोगले खोर नै रित्तिने गरी बाख्रा मर्दा किसान चिन्तित्

खोटाङ, भदौ २९

अज्ञात रोगले खोर नै रित्तिनेगरी बाख्रा मर्न थालेपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका किसान मारमा परेका छन् । लक्षण देखिएर बिरामी भएको ४/५ दिनभित्र खसी बाख्रा मर्ने समस्या फैलिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका किसान मारमा परेका हुन् ।

कतिपय फर्म खोलेर व्यवसायिक रुपमा पालिएका बाख्रा खोर नै रित्तो हुनेगरी मर्न थालेपछि लाखौं नोक्सान भइरहेको किसानको गुनासो छ ।

याम्खामा सुनगाभा कृषि तथा बाख्रा फर्म खोलेर व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान दिपेन्द्र श्रेष्ठको २४ वटामध्ये २१ वटा बाख्रा मरिसकेका छन् । चितवनबाट खरिद गरेर ल्याएको बोयर जातको बोका सहित स्थानीय जातको बाख्रा मर्दा खोर नै रित्तिएको श्रेष्ठले बताए । 

गत असार यता याम्खामा मात्र सय वटाभन्दा बढि बाख्रा मरिसकेको वडा कार्यालयले जनाएको छ । हालसम्म बाख्रामा लागेको रोगको पहिचान भएको छैन । गाउँपालिकामा एग्रोभेट एबं आवश्यक भेटेरिनरी कर्मचारी र औषधिको व्यवस्था नभएकाले बाख्रा मर्ने समस्याले महामारीको रुप लिएको हो ।

सुरुमा घाँस खाँदाखाँदै छेर्ने, झोक्राउने जस्ता लक्षण देखिने र बिरामी भएको कम्तीमा ४ दिनदेखि ५ दिनभित्र बाख्रा मर्ने गरेको स्थानीयले बताएका छन् ।

वडा कार्यालय याम्खाका अनुशार स्थानीय जातको बाख्रा पालन गरिरहेका खड्गप्रसाद कार्कीको १८ वटा, प्रेमकुमार अधिकारीको १३ वटा, पुन्नरीप्रसाद घिमिरेको ११ वटा, हरिप्रसाद पराजुलीको ११ वटा, नरबहादुर कामीको ७ वटा, गणेश घिमिरेको ५ वटा, कुलबहादुर दाहालको ४ वटा, तिलकबहादुर कार्कीको ३ वटा, रामबहादुर खत्रीको ३ वटा, दुर्गा कार्कीको २ वटा, जीवन पराजुलीको २ वटा र पराजुली बाख्रा फर्मको २ वटा बाख्रा मरिसकेका छन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका किसानले पालेका बाख्रा समेत मर्न थालेको स्थानीयले बताएका छन् । 

आवश्यक औषधिको व्यवस्था नभएकाले सम्पर्कमा आएका किसानलाई दिक्तेलबाट औषधि खरिद गरेर बाख्राको उपचार गर्न सुझाव दिइएको गाउँपालिकाका भेटेरिनरी संयोजक प्रेम राईले बताए ।

गाउँपालिकाका ७ वटै वडामा भेटेरिनरी कर्मचारीको दरबन्दी खुलाएको भएपनि कोरोना कहरका कारण कर्मचारी व्यवस्था गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!