खोटाङमा व्यक्तिगत सुरक्षा उपकरण विनै स्वास्थ्य जाँचमा स्वास्थ्यकर्मी

खोटाङ, चैत्र १३


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि खटाइएका स्वास्थ्यकर्मी आवश्यक सामग्रीको अभाव झेल्न बाध्य छन् ।

जिल्लाका स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका आवश्यक सामग्री अभावका बीचमा विरामीको स्वास्थ्य चेकजाँच तथा आवश्यक परामर्शका काममा खटिइरहेका छन् । हालसम्म्म मास्क र ग्लोव्सको भरमा स्वास्थ्यकर्मीले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र हेल्थ डेस्कबाट सेवा प्रवाह गरिरहेका छन् ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नलगाइ स्वास्थ्य जाँच गर्दा सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई नै भाइरस सर्ने खतरा भएकाले सचेत रहनुपर्ने जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेस श्रेष्ठले बताउनुभयो ।

कोरोनाको संक्रमण रोक्नका लागि सरकारले लकडाउन लगाएको छ । नागरिकलाई घर बाहिर निस्कन दिइएको छैन । तर, यहीबेला खटाइएका स्वास्थ्यकर्मी भने आवश्यक सामग्रीको अभावकाबीचमा सेवा प्रवाह गर्न बाध्य छन् ।

जिल्लाका १० स्थानीय तहका विभिन्न नाकामा राखिएका २० वटा हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) बिनै सर्वसाधारणको चेकजाँच गरिरहेका छन् ।

यो बेला व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) चाहिने हो, तर जिल्लामा नभएकाले त्यो बिनै काम गरिरहनु परेको अवस्था छ,’ डा. श्रेष्ठले भन्नुभयो, ‘पीपीई नहुँदा स्वास्थ्यकर्मी आफै रिस्कमा छन् ।

एकदमै संवेदनशिल बनेर काम गरिरहनु परेको अवस्था छ ।’ पीपीई नहुँदा लकडाउनको अवधिमा खटाइएका सुरक्षाकर्मी र संक्रमण भएका सम्भावित व्यक्तीको कुरुवा समेत जोखिममा छन् ।


जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्र पीपीईको पाँच थान साधारण सेट खरिद गरेर ल्याएको छ । अन्य स्थानीय तहमा काम चलाउ पीपीई समेत ल्याइएको छैन । जिल्ला अस्पतालमै पीपीईको व्यवस्था छैन ।

पीपीई नहुँदा अरुको जीवन बचाउमा लागेका स्वास्थ्यकर्मी आफै जोखिम मोलेर सेवा गर्न बाध्य बनेको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो ।


कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बुधबारको बैठकले स्वास्थ्य परिक्षणकाक्रममा स्वास्थ्यकर्मीले लगाउने पीपीई मास्क, ग्लोव्स लगायतका सामग्री व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र १ नम्बर प्रदेशको मूख्यमन्त्रीको कार्यालय समक्ष सहयोग माग गर्ने निर्णय गरेको छ । तर माग गरिएको सामग्री कहिले आउने टुंगो नभएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु