खोटाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

दिलीप खत्री खोटाङ, ६

साउन खोटाङमा फोटो सहितको मतदाता नामावली दर्ता गराउने सर्वसाधारणको भीड लागेको छ ।

असार १४ गते सम्पन्न भएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनका कारण चासोका साथ मतदाता नामावली दर्ता गर्ने स्थानीयको भीड लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन १ गतेयता औसतमा दैनिक डेढ सय सर्वसाधारणले फोटो सहितको मतदाता नामावली दर्ता गराइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम सुरु गरिएको हो । सर्वसाधारणको भीडलाई ध्यानमा राखेर निर्वाचन कार्यालयले दैनिक बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली दर्ताको काम गरिरहेको छ ।

मतदाता नामावली दर्ता तथा संकलन गर्ने, २०७३ साल फागुन ९ गतेअघि र पछि १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका नेपालीको मताधिकार सुनिश्चित गर्ने, त्रुटि सच्याउने, ठाउँ सार्ने, दोहोरो नाम हटाउने लगायतका प्रयोजनका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिकका काम धमाधम भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गर्न आएका भीडका कारण निर्वाचन कार्यालयका कर्मचारीलाई भ्याइ–नभ्याई छ । आयोगको पछिल्लो निर्णयले थप नामावली संकलन हुने बताएको छ । आयोगले साउन १६ देखि ३२ गतेसम्म प्रत्येक स्थानीय तहको केन्द्रमै नामावली संकलन गर्ने निर्णय गरेको छ । सोही अनुरूप जिल्लाका १० स्थानीय तहका १० ठाउँमा नामावली संकलन हुनेछ । त्यसका लागि आयोगबाट थप निर्देशन आएलगत्तै आवश्यक तालिमसहित प्राविधिक खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु